मन्त्री यादवलाई प्रश्न, रेकर्ड तोडिन्छ वा विगतकै परम्परा दोहोरिन्छ ?

एसबी थापा मगर/ललितपुर ।

पुनः चर्चामा मातृका

यतिबेला देशले नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मातृका प्रसाद यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा पाएको छ । जानकारहरुका अनुसार यस मन्त्रालय देशको अर्थतन्त्रको मेरुदण्ड नै हो ।

आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक साथै वैचारिकरुपमा स्पष्ट र स्वच्छ छवि बनाएका माओवादी नेता एवम् मन्त्री यादवले देशको मेरुदण्ड मानिएको मन्त्रालय सोमबार पदभार ग्रहण गरी सम्हालेसँगै उनको हरेक निर्णय र कार्यलाई हरेक तह र तप्काले नजिकबाट नियाल्न थालिसकेका छन् ।

नवनियुक्त मन्त्री यादवले पदभार ग्रहण गर्दा कुनै एउटा निर्णय गर्ने परम्परालाई ‘नपढीकन कुनै फाइलमा सही गर्दिन’ भनी तोडिदिएका छन् ।

अनुशासन तोडेर गढबड गर्नेका लागि आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने बताएका मन्त्री यादवले आफूलाई गलत हुनबाट रोक्न सुझाउँदै भनेका छन्, ‘मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस् ।’

उल्लेखित विषय पछिल्लो समय आम सञ्चारमाध्यममा राम्रै खपत भएको देखिन्छ भने उनको विगत र वर्तमानलाई जोडेर पुनः चर्चा हुन पनि थालेको छ ।

मन्त्री यादवको उचाई निर्धारण हुने भो !
यस अघि दुई पटक मन्त्री बनिसकेका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले बुझाउने सम्पति विवरणलाई यतिबेला चासोका साथ हेरिन थालिएको छ । जसलाई सञ्चार माध्यमले समेत राम्रैगरी पच्छ्याउने संकेत चिया पसलमा पनि सुनिन्छ ।

यसैगरी मन्त्री यादवले विस्तार गर्ने सचिवालयमा रहनेहरु र तिनका आफ्ना आफन्तको उद्योग, व्यापार, व्यवसायलाई विभिन्न कोणबाट मसिनो गरी चियाउन थालिसकेको देखिन्छ । त्यसैले मन्त्री यादव र उनका सचिवालयमा रहनेहरुका आफ्ना-आफन्तका विगत र वर्तमानको आर्थिक अवस्थामा मन्त्रालयको जिम्मेवारीबाट हटेपछि देखिने फेरबदल र प्रोफाइलले यादवको उचाई निर्धारण हुने देखिन्छ ।

सारत: उत्पीडित वर्ग, जाति, क्षेत्र र लैङ्गकि विभेद (देश र जनता)का मुक्तिका लागि जीवन उत्सर्ग गर्ने महान् सहिद, बेपत्ता, घाइते र अपाङ्गका सपनाअनुरुप उद्योग, वाणिज्य र अापूर्तिका क्षेत्रमा कार्य हुन्छ कि भ्रष्टाचारी, कालाेबजारी, तस्कर, माफिया, घुसखाेर र दलालकाे अभिष्ट पूरा हुने गरेर पदावधि सकिन्छ साे नै मन्त्री यादवको कदमापक हुन्छ ।

सचिवालय गठनपूर्व प्रश्न !

मन्त्री यादवलाई सहयोग गर्ने नाममा उनकै सम्भावित सचिवालयका सदस्यहरुले विगतको उनको बेदाग मान, सम्मान र प्रतिष्ठालाई अपारदर्शिता र ढोंग मात्रमा सीमित गरिदिने त होइनन् ? सचिवालय गठनपूर्व नै प्रश्न उठाइएको देखिन्छ ।

केहीले सम्भावित खतरा औल्याउँदै उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयमा हुने विभिन्न नियुक्ति र रोजगारीका क्रममा रेकर्ड तोडिन्छ वा विगतकै परम्परा दोहोरिन्छ ? भन्न थालेका छन् ।

मन्त्री यादवले विगतमा सत्ता सञ्चालकहरुलाई उठाएका औंला आफूतर्फ नसोझिने गरी कार्यहरु गर्लान् ? उनले भन्ने गरेका देश लुटेरा र विदेशीका दलालहरुको वर्चस्व उनको कार्यकालमा उद्योग, वाणिज्य र आपूर्तिका क्षेत्रमा के कस्तो रहला ? देशको अर्थतन्त्रलाई दलदलमा फसाउने कालाबजारिया, घुसखोर, कमिसनखोर, तस्कर र माफियाहरुलाई कारवाही होला कि नहोला ? बन्द भएका उद्योग, रुग्ण उद्योग साथै बन्द र जिर्ण कलकारखानाहरु के नयाँशिराबाट सञ्चालन भई युवाहरु स्वदेशमै स्वरोजगार बन्ने स्थिति पैदा होला त ? जनजनको चासो र सरोकारको विषय बन्न पुगेको छ ।

यतिबेला नेपाली बजारमा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नेपाली उखान चरितार्थ नहोस् भन्ने एकथरि मान्छेहरु छन् भने अर्काथरि मान्छेहरु ‘टाउकोले पुच्छर हल्लाउँछ कि पुच्छरले शरीर ?’ भनी सुन्दर आशा र सम्भावनाका बीच आशंका पनि गरेका छन् ।

मन्त्री यादवले वैज्ञानिक समाजवाद उन्मुख चुनौतिपूर्ण अवसरको रथलाई कुन बाटोबाट कसरी अघि बढाउँछन् ? उनको कार्य र सारथीहरुको क्रियाकलापलाई केही समय कुर्नै पर्ने हुन्छ ।

तपाइको मत