ढुवानी मजदुर र व्यापार संघबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

१४ माघ ०७६, काठमाडौं । अखिल नेपाल ढुवानी मजदुर संघले नेपाल मार्बल व्यापार संघसँग पेश गरेका मागहरू आंशिक सम्बोधन भएपछि आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

मजदुर संघ र व्यापार संघबीच मंगलबार भएको छलफलबाट ५ बुँदामा सहमति भएसँगै ढुवानी मजदुर संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

अखिल नेपाल ढुवानी मजदुर संघका केन्द्रीय अध्यक्ष चक्र खत्री, मार्वल मजदुरका एरिया मूल कमिटीका अध्यक्ष यादव केसी, उपाध्यक्ष कृष्ण न्यौपाने सहसचिव रमेश घिमिरे र नेपाल मार्बल व्यापार संघका प्रतिनिधि बिच भएको छलफलपछि मजदुर संघ आन्दोलन स्थगित लिन सहमत भएको हो ।

दुई पक्षबीच भएको छलफलबाट सम्पूर्ण मार्बल गोदाममा काम गर्ने मजदुरहरूलाई कम्पनीले परिचय पत्र अनिवार्य उपलब्ध गराउने, गोदममा इन्डियन ट्रक अनलोड गर्दा केजीको १ रुपैयाँ दिनु पर्ने, गोदाममा इटालिएन ट्रक अनलोट गर्दा केजीको १ रुपैया ५० पैसा दिनुपर्ने, गोदाममा इन्डियन मार्बल तथा ग्रेनाइट लोड अनलोड गर्दा वर्ग फिट ८ रुपैया ५० पैसा दिनुपर्ने, इटालियन मार्वल लोड तथा अनलोड गर्दा वर्ग फिट १० रुपैयाका दरले दिनुपर्ने सहमति भएको छ ।

अखिल नेपाल ढुवानी मजदुर संघले नेपाल मार्बल व्यापार संघलाई गत मंसिर १९ गगते पेश गरेको २२ बुँदे मागमा बाँकी १७ बुँदामा १ महिनापछि पुनः छलफल गर्ने सहमति भएको छ ।

मजदुर संघले यस क्षेत्रमा विगत लामो समयदेखि कार्यरत श्रमिकहरु श्रम ऐन २०७४, श्रम नियमावली २०७५ बमोजिमका आधारभूत अधिकार समेतबाट बञ्चित भएको भन्दै न्यूनतम ज्याला र योगदानमा आधारित सामाजिक सुरक्षाबाट समेत आफूहरु बञ्चित हुन परेको माग पत्रमा उल्लेख गरेका छन् ।

यस्तै संघले माग पत्रमा मागको उचित सम्बोधन नभए श्रम नियमावलीको नियम ६८ र ६९ बमोजिम अघि बढ्ने चेतावनी समेत दिएको छ ।