“अहिले हामी समाजवाद उन्मुख भनिरहेका छौं । समाजवादमा जाने भनिरहेका छौं । तर, काँग्रेसले पनि प्रजातान्त्रिक समाजवादी दुनियाँ बनाउने भनेकै छ । पञ्चायतमा पनि शोषणरहित समाज बनाउने कुराहरु थिए । आज नर्वे, फिन्याण्ड, स्वीडेन लगायत देशहरुले वेलफेयर सोसियालिज्म् अर्थात् नर्विक समाजवाद भनेका छन् । आइएलओले दिएको अधिकांश सुविधाहरु उपभोग गरिरहेका छन् । इण्डिया पनि समाजवादी देश नै हो, संविधानमै समाजवाद लेखेका छन् । चीन पनि समाजवादी देश नै हो । त्यसबाहेक सामन्ती समाजवाद छ । धार्मिक समाजवाद पनि छ । समाजवाद धेरै किसिमका हुन्छन् । तर, हामी कस्तो समाजवादी बन्ने कुरा मूल प्रश्न हो ।”
संसारभरिका श्रमजीवी मजदुरहरुले १३१औं मई दिवस आ–आफ्नै तरिकाले मनाए । नेपाली मजदुरहरुले पनि कोरोना महामारीका कारण यस वर्ष सभा सम्मेलन नगरेर आ–आफ्नै तरिकाले शुभकामना आदानप्रदान गरेर मई दिवस मनाए । यसै सन्दर्भमा मार्क्सवादी चिन्तक स्वनाम साथीसँग एसबी थापा मगरले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
मई दिवस अन्तर्राष्ट्रिय श्रमिक दिवस हो । विश्वव्यापीकरणले गर्दा पूँजीपति वर्ग सिङ्गै विश्वव्यापी भएको छ । उनीहरुका राज्यसत्ता विश्वव्यापी छ; सरकार विश्वव्यापी छ; अदालत विश्वव्यापी छ; संघ–संस्था विश्वव्यापी छ; उत्पादन विश्वव्यापी छ; बजार पनि विश्वव्यापी छ; हामी हाम्रो भाषामा यसलाई साम्राज्यवाद भन्दछौं । हुनत, मजदुरहरु पनि विश्वव्यापीरुपमै छरिएका छन् । मजदुरहरु श्रम बेच्न सबै देशमा पुगेका छन् । मजदुरहरु अन्तर्राष्ट्रियकण भएका छन्, विश्वव्यापीकरण त भएको छ तर जसरी पूँजीपतिहरु (राजनीतिक भाषामा साम्राज्यवादीहरु) आफ्नो वर्ग–सत्ता र वर्चस्व जोगाउन संगठित भएका छन् त्यसरी मजदुरहरु संगठिन भएका छैनन् र हुन सकिरहेका छैनन् । त्यसकारण, वर्गीय उत्पीडनबाट मात्रै नभएर सबैखाले उत्पीडनबाट मुक्ति प्राप्तिका लागि मजदुरहरु पनि संगठित हुनु जरुरी छ । हामीले भएका संगठनलाई सुदृढ गर्न सकिरहेका छैनौं । विश्वव्यापी बनाउन पनि सकेनौं । आगामी दिनमा अझै धेरै मेहनत गरेनौं भने विश्वपूँजीवादसँगको हाम्रो लडाइँ कमजोर बन्नेछ । त्यसैले पनि साँचो अर्थमा “संसारका मजदुरहरु एक हाऔं” भन्ने नारा वर्गीय उत्पीडनबाट मुक्तिका लागि, वर्गीय दुनियाँबाट निवर्गीयता बनाउनका लागि मजदुरहरुले आफ्ना कुरा मात्रै गरिरहेका छैनन् । यहाँ मजदुरवर्ग र सर्वहारावर्गको मुक्तिका कुरा मात्रै होइन कि सिङ्गो मानवजातिकै मुक्तिका कुरा गरिएको छ र गरिएको हो । त्यसैले विश्वव्यापीस्तरमै पनि संगठन निर्माण गर्नु पर्दछ भन्ने पहिलो कुरा हो ।
दोस्रो, मई दिवस सन्दर्भमा संसारका मजदुरहरुले कस्तो दुनियाँ बनाउने भनेर चिन्तन गर्नु पर्दछ, कर्मकाण्डी होइन् । मजदुरका हकहितको कुरा गर्ने, आफ्नो स्वार्थका लागि मजदुरलाई उपयोग गर्ने तर प्रतिबद्धता पूरा नगर्ने हाम्रो मूल रोग हो । त्यसलाई हटाएर निवर्गीय दुनियाँ बनाउनतिर लाग्नु पर्दछ ।
अहिले हामी समाजवाद उन्मुख भनिरहेका छौं । साजवादमा जाने भनिरहेका छौं । तर, काँग्रेसले पनि प्रजातान्त्रिक समाजवादी दुनियाँ बनाउने भनेकै छ । पञ्चायतमा पनि शोषणरहित समाज बनाउने कुराहरु थिए । आज नर्वे, फिन्याण्ड, स्वीडेन लगायत देशहरुले वेलफेयर सोसियालिज्म् अर्थात् नर्विक समाजवाद भनेका छन् । आइएलओले दिएको अधिकांश सुविधाहरु उपभोग गरिरहेका छन् । इण्डिया पनि समाजवादी देश नै हो, संविधानमै समाजवाद लेखेका छन् । चीन पनि समाजवादी देश नै हो । त्यसबाहेक सामन्ती समाजवाद छ । धार्मिक समाजवाद पनि छ । समाजवाद धेरै किसिमका हुन्छन् । तर, हामी कस्तो समाजवादी बन्ने कुरा मूल प्रश्न हो ।
कार्ल माक्र्सले बैज्ञानिक समाजवादको वकालत गर्नुभयो । उहाँले भन्नुभएको साम्यवादी व्यवस्था हो । साम्यतन्त्र बन्नु अघि बैज्ञानिक समाजवादी व्यवस्था बन्नु पर्दछ भनिएको छ । मई दिवसका सन्दर्भलाई स्मरण गर्दा संसारका मजदुरहरुलाई यसले झस्काइदिएको छ । हामी हाम्रो भविष्यको बारेमा कस्तो भविष्य बनाउने ? भन्ने विषयमा आवश्यक छलफल, बहस, अध्ययन अनुसन्धान गर्नु जरुरी छ । विश्वका श्रमिकहरुबीच एकताबद्ध भई आफूलाई प्रबद्र्धन गर्नु जरुरी छ ।
सबै कुरा चक्रमा हुन्छन् । हामीले एउटा चक्र पूरा गरेका छौं । कम्युनिष्ट पार्टी घोषणा पत्रले वर्गबाट उन्मिुक्तको कुरा निकाल्यो । पेरिस कम्युन, अक्टुबर क्रान्ति, चीनको क्रान्ति लगायत संसारका धेरै देशहरुमा क्रान्ति सम्पन्न भयो । कतिपय देशमा क्रान्तिको अवसान पनि भयो, एउटा चक्र त्यो सकियो । र, अर्को चक्र सुरुभएको छ ।
समाजमा पनि समुन्द्रमा जस्तै छालहरु आउँछन् । घोषणा पत्रले एउटा छाल ल्यायो । पेरिस कम्युनले अर्को छाल ल्याइदियो । त्यो टुङ्गियो र अर्को सुरु भइसकेको छ । त्यसको अग्रभागमा हामी छौं । हाम्रो विश्वव्यापी समस्या छ र यो विश्वव्यापी रुपमै हल खोजिनु पर्दछ ।
राष्ट्रिय समस्या राष्ट्रियरुपमा, क्षेत्रीय समस्या क्षेत्रीयरुपमा, स्थानीय समस्या स्थानीयरुपमा र व्यक्तिगत समस्या व्यक्तिगत रुपममै हल गरिनु पर्दछ । राष्ट्र–राष्ट्र बीचको समस्या भएकाले अन्तर्राष्ट्रिय समस्या देखा परेको छ । यसर्थ अन्तर्राष्ट्रिय मजदुरहरुले अर्थात् हरेक देशका श्रमिकहरुले आ–आफ्नो देश–देशमा सबैखाले शोषण, दमन, अन्याय, अत्याचारबाट मुक्त हुन आन्दोलनलाई उठाउँदै एकअर्का देशबीच हातेमालो गर्दै शोषण र शासनको सदाका लागि अन्त्य गर्न मूलत: यो थोत्रो, मक्किएको, म्याद गुज्रिएको पूँजीतन्त्रको अन्त्य र साम्यतन्त्रको स्थापनार्थ संसारका मजदुरहरु एकजुट हुनुपर्दछ ।
मई दिवस संसारका मजदुरहरुले आआफ्नै तरिकाले मनाए । नेपालमा पनि ट्रेड युनियनहरुले, मजदुरहरुले आ–आफ्नै अनुकूलता र अवस्थाअनुसार मनाए पनि मूलत: पूँजीपति वर्गले अझैसम्म नचेतेका कारण आगामी दिनमा श्रमजीवी मजदुरहरुका अगाडि एकीकृत र सुसंगठित आन्दोन्लन उठाउनुको विकल्प छैन् ।