बामदेव गौतमले तोडे ओलीसँगको चारदशक लामो मित्रता !

१८ भदौ ०७८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको चार दशक लामो मित्रता अब उपरान्त पनि मित्रतापूर्ण रहोस् भन्दै उनलाई साथ नदिने सार्वजनिक गरेका छन् ।

अध्यक्ष ओलीलाई सम्बोधन गर्दै शुक्रबार पार्टी कार्यालयमा बुझाएको राजीनामा पत्रमा गौतमले ओलीसँग मित्रतापूर्ण सम्बन्ध रहोस् भन्दै साथ दिन नसक्ने बताएका हुन् ।

गौतमले पार्टी कार्यालयमा बुझाएको राजीनामा पत्रमा ओलीले सहकर्मीहरुलाई अपमान गर्ने गरेको, राष्ट्रपतिलाई पनि स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयनमा दुरुपयोग गरेको आरोप लगाएका छन् ।

यस्तै गौतमले नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणालाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकालभरि ओलीले लागू नगरेको, जनताको अत्यधिक बहुमत झण्डै दुई तिहाई जनताको जनादेशलाई लत्याउँदै पहिलोपटक २०७७ पौष ५ गते र दोस्रो पटक २०७८ जेष्ठ ७ गते दुई–दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित सदन भंग गरेको आरोप ओलीमाथि गौतमले लगाएका छन् ।

स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरु कार्यान्वयन गर्न राष्ट्रपतिलाई दुरुपयोग गरेको उल्लेख गर्दै गौतमले भनेका छन्, “एमालेमा तपाईंकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पाटीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु । फेरि पनि तपाई सँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुई बीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।”