बागलुङमा सरकारी गाडी दुर्घटना, तीन जनाको मृत्यु

२८ भदौ ०८१, बागलुङ । गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् । मृतकको सनाखत हुन बाँकी छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी सवार सरकारी गाडी दुर्घटना भएको बताएका छन् ।

गाडीमा को–को थिए र कति जना सवार थिए भन्ने नखुलेको र घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

अहिले दुर्घटनास्थलमा खोज तथा उद्दारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

ताजा समाचार