देवराम यादव/४ असोज ०७७, राजविराज । सप्तरी प्रहरीले सामुहिक बलात्कारमा परेकी एक किशोरीले आत्महत्या गरेको प्रकरणमा २ जनालाई पक्राउ गरेको छ ।
डाक्नेश्वरी ७ का १८ वर्षीय सुमन कुमार मण्डल (बब्लु) र रन्जित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उनीहरुलाई गत बुधवार राती ९ बजे पक्राउ गरेको हो ।
सामुहिक बलात्कारमा संलग्न ३० वर्षीय धर्म मण्डल र ३५ वर्षीय विष्णु मण्डल अझै पनि फरार छन् । पक्राउ परेकाहरुलाइ बलात्कार र आत्महत्या दुरुत्साहनको मुद्दा चलाइने भारतीले बताए ।
गत भदौ २९ गते डाकनेश्वरी नगरपालिका–७ की १७ वर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी थिइन । धानखेतमा गएको बेला किशोरी बलात्करमा परेपछि गाउँमा बसेको पञ्चायले पीडित र उनको परिवारलाई प्रहरीमा नजान र ५५ हजार लिएर मिलापत्र गर्न दबाब दिएको थियो ।
पञ्चायतको निर्णयपछि किशोरीले आत्महत्या गरेकी थिइन । सोही प्रकरणमा पञ्चहरु जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।