१६ असार, बझाङ । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा दुई दिनदेखि लगातार २१ पटक तीन रेक्टर स्केलभन्दा माथिका भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
बुधबार दिउँसो २ बजे पहिलोपटक पाँच म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछि बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । विहीबार दिउँसो ३ बजे सम्ममा २१ पटक पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनकाअनुसार बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि पराकम्पनहरु नरोकिएकोले कुनै पनि बेलामा पश्चिमक्षेत्रमा ठूलो धक्का आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु नै उपयुक्त हुन्छ ।
भूकम्पको धक्काले बझाङमा सामान्य घर र विद्यालय भवनहरु चर्किएका छन्, मानवीय क्षति भएको छैन ।