प्रहरीले दर्ता गरेन सांसद र पूर्वआईजीपीविरुद्ध अपहरण जाहेरी

१४ बैशाख ०७७, पर्सा । महानगरीय प्रहरी परिसर, काठमाडौंले सांसदद्वय र पूर्वआईजीपीविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न इन्कार गरेको छ ।

प्रहरीले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्वय किसान श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न इन्कार गरेको हो ।

प्रहरीले जाहेरी दर्ता गर्ने भए घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाएको जाहेरी दर्ता गएका नेताले बताए ।

अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता नै नभएपछि पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विधिको शासन र नागरिकको जीवनरक्षामाथि नै प्रश्न उठाएका छन् ।

“यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?” डा.भट्टराईले सामाजिक सञ्जालमा समेत लेखेका छन् ।

आज जाहेरी दर्ता गर्न अपहरणमा परेका भनिएका पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, जसपाका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

यही बैशाख १० गते सांसद यादवलाई सांसद श्रेष्ठ, बस्नेत र पूर्वआईजीपी खनालले काठमाडौं ल्याएका थिए । तर, सांसद यादव ११ गते बिहानै मेरियट होटलबाट निस्किएर पार्टीको सम्पर्कमा पुगेका थिए ।

सांसद यादवले विभिन्न सञ्चार माध्यमहरुमा समेत आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बताएता पनि सांसद श्रेष्ठ, बस्नेत र खनालले उनकै सहमतिमा काठमाडौं ल्याइएको बताएका छन् ।