प्रवासी श्रमिकको उद्दार तथा व्यवस्थापनमा सरकारका निर्णयहरू अनुदार – अन्टुफ अध्यक्ष सिम्खडा

जगत सिम्खडा – अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ

९ भदौ ०७७, काठमाडौं । सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले प्रवासी श्रमिकको उद्दार तथा व्यवस्थापनमा सरकार अनुदार रहेको बताएको छ ।

सोमबार बसेको महासंघको पदाधिकारी, सातै प्रदेशका इन्चार्ज र अध्यक्षसहितको भर्चुअल बैठकपछि महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले स्वदेश फर्किने श्रमिक/यात्रुहरुलाई सरकारले क्वारेन्टाइनका साथै आवश्यकीय प्रबन्ध गर्नुपर्नेमा सरकार बैदेशिक रोजगारीमा रहेकाप्रति जिम्मेवारबिहीन र अनुदार बनेको भन्दै सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णयहरु बैठकले लिएको बताए ।

‘सरकारले बैदेशिक रोजगारीमा रहेर नेपाल फर्कनेहरुलाई क्वारेन्टाइनको व्यवस्था साथै आवश्यकीय स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्नुपर्दछ । आफ्नै खर्चमा अनिवार्य ७ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका निर्णयहरु अव्यवहारिक छन,’ अध्यक्ष सिम्खडाले भने, ‘देशको कूल गार्हस्थ उत्पादनमा करिब एक तिहाई योगदान गरेका बैदेशिक रोजगारीमा रहेकाप्रति सरकार जिम्मेवारीविमुख, बेखबर र अनुदार बन्नु दुखद पक्ष हो । गतआर्थिक वर्ष मात्रै नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।’

अन्टुफ पदाधिकारी, प्रदेश इन्चार्ज र अध्यक्षहरूको सोमबार बसेको भर्चुअल बैठक

सरकारले तोकेको सबै विधि र प्रक्रिया पु-याएर बैदेशिक रोजगारीमा गएका जो कोभिड-१९ को महामारीले गर्दा भिसा, बिमाको म्याद सकिएर स्वदेश फर्कन नपाएर अलपत्र छन् उनीहरुलाई नेपाल सरकारले आफ्ना राजदूतावास वा श्रम काउन्सिलर, श्रम सहचारीमार्फत् भिसा, बिमा नवीकरण र रोजगारी नियमित गर्नेहरुलाई श्रम स्वीकृति लगायतका आवश्यक कागजात नवीकरण गर्नुपर्ने उनले बताए ।

उनले बैदेशिक रोजगारीबाट फर्किएकाहरुका सीप, क्षमता र अनुभवलाई सरकारले देश विकासमा जोड्न सक्नुपर्नेमा विशेष जोड दिँदै ऋण तिर्न नसकेका वा स्वरोजगार बन्न इच्छुकहरुलाई सहुलियत ऋण/कर्जा प्रदान गरेर, सिपमुलक तालिम समेत दिई देशलाई आत्मनिर्भर बनाउने दिशामा सरकार अघि बढ्न सक्नुपर्ने बताए ।

‘स्वदेशमै रहेर रोजगारी गुमाएका र बेरोजगार युवाहरुलाई विशेष योजना बनाएर सरकारले नयाँ रोजगारीमा सृजना गर्न सक्नुपर्दछ,’ भन्दै अध्यक्ष सिम्खडाले भने, ‘अधिकांश व्यवसायी र उद्योगपतिहरुले कतै कोभिड-१९ लाई देखाएर, कहीँ श्रम ऐनको दफा १४५ को गलत प्रयोग गरेर मजदुर निश्कासन गरिररहेका छन् । हजारौं मजदुरको रोजीरोटी खोसिएको छ । यही अवस्था कायम रहिरहे हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले वातावरण सहज बनेसँगै एकएक हिसाबकिताब लिनेछ ।’

बैठकमा श्रम ऐनका मजदुरविरोधी दफा, ट्रेड युनियन ऐन र नियमावलीका सन्दर्भमा व्यापक छलफल भएको भन्दै उनले आवश्यक प्रक्रिया अघि बढाउन थप छलफल गरेर निष्कर्षका पुग्ने बताए ।