७ जेठ ०७८ , काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी लोकतन्त्र र संविधानविरुद्ध गएको बताएका छन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार ५ बजेभित्र संवधानकाे धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदमा दावी पेश गर्न आव्हान गरेपछि अध्यक्ष प्रचण्डकाे यस्तो प्रतिक्रिया आएको हाे ।
उनलेे प्रधानमन्त्री केपी ओली प्रतिगामी, निरंकुश र स्वेच्छाचारी ढंगले चलेकाे भन्दै शुक्रबार ५ बजेसम्म सरकार गठनको नाटकले राष्ट्रपति पनि लोकतन्त्र र संविधानका विरुद्ध गएको कुरा प्रमाणित भएको बताए ।
“यो जे काम भइराखेको छ, यो काम हेर्दा मैले अहिलेसम्म प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र संविधानका विरुद्ध घात गरेका छन्, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी ढंगले चलेका छन् मात्रै भन्ने गरेको थिएँ,” अध्यक्ष प्रचण्डले भनेका छन्, “शुक्रबार भोलि ५ बजेसम्म भनेर बिहीबार साँझ जुन नाटक गरिएको छ, यसबाट राष्ट्रपति पनि लोकतन्त्र र संविधानका विरुद्ध गएको कुरा प्रमाणित भएको छ ।”
राष्ट्रपति कार्यालयले बिहीबार साँझ शुक्रबार ५ बजेभित्र संविधानकाे धारा ७६(५) अनुसार सरकार गठनको लागि आह्वान गरेको छ ।