१३ माघ ०७६, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली देखिँदाखेरि सुरो यथार्थमा बिचरो भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् ।
एक व्यक्तिलाई प्रधानमनत्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउँदा प्रधानमन्त्री कमजोर देखिएको भन्दै सांसद थापाले प्रश्न गरे, ‘तपाईंलाई बाहिर के भन्दैछन् थाहा छ ? देखिँदाखेरि सुरो, यथार्थमा बिचरो भन्दैछन्, तपाईंलाई थाहा छ ?’
सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर घुमारो भाषामा प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् ।
‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिङ्गो नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस्’ उनले भने ।
प्रधानमन्त्रलाई संसदमा उभिएर ‘आँखामा आँखा जुधाएर नागरिकको प्रश्नको उत्तर दिने हिम्मत छ कि छैन् ?’ प्रश्न गर्दै सांसद थापाले भने, ‘प्रधानमन्त्री ज्यूसँग हिम्मत छ कि छैन, मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ ।’
तत्कालीन सञ्चारमन्त्री बास्कोटाको अडियो प्रकरणलाई जोडेर कांग्रेस नेता एवम् सांसद थापाले प्रधानमन्त्रीको चुलो चलाउने प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाइमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली सरकारको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनु पर्ने ? लगायतका प्रश्न गरेका थिए ।
नेता थापाले पटकपटक भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर प्रधानमन्त्रीले उद्घोष गरेको भए पनि नागरिकहरुले पहिलेपहिले माक्र्सवादी जस्तो देख्ने प्रधानमन्त्रीलाई आजभोलि यताबाट हेरेपनि, उताबाट हेरे पनि ‘यती’वादी मात्रै देखिन थालेको पनि बताए ।