प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता

११ भदौ ०७४, बिहार (भारत) । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमार बीच शनिबार साँझ शिष्टाचार भेटवार्ता भएको छ ।

आन्ध्र प्रदेशबाट शनिबार साँझ बिहार आइपुगेका पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच बिहारको रोयल रेसिडेन्सी होटलमा भेटवार्ता भएको हो ।

सो भेटवार्तामा हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा जोड दिएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए ।

भेटवार्तामा बाढी नियन्त्रणका लागि कोशी र गण्डक सम्झौतासम्बन्धी दुई देशीय संयुक्त संयन्त्रलाई सक्रिय बनाई बाढी नियन्त्रणका दीर्घकालीन प्रबन्ध नहुन्जेलसम्म दुवै देशका लागि अभिशाप हुने भएकाले संयुक्त संयन्त्रको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

भेटवार्तामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवका जानकारी अनुसार भारतको पटना र नेपालको काठमाडौँमा पानी व्यवस्थापनको छुट्टाछुट्टै सम्मेलन गर्ने सहमति भएको छ ।

ती सम्मेलनमा नेपाल तथा भारत सरकारका जलस्रोतसम्बन्धी विज्ञ तथा सरकारी अधिकारीको सहभागिता हुनेछ ।

भेटवार्तामा प्रधानमन्त्री देउवा, पर्यटन मन्त्री देव, परराष्ट्र सचिव वैरागी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सहभागी थिए ।

तपाइको मत