प्रधानमन्त्रीको सपथ बदरको रिट लिएर अधिवक्ताहरु पुगे सर्वोच्च अदालत

२ जेठ ०७८, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली ठूलो दलको प्रधानमन्त्री नियुक्त भएपछि लिएको सपथ बदरको रिट लिएर अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् ।

एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री नियुक्त भएपछि लिएको पद तथा गोपनीयताको शपथका क्रममा उनले ‘त्यो पर्दैन’ भनी उच्चारण नगरेपछि अधिवक्ताहरु सपथ बदरको रिट लिएर सर्वोच्च पुगेका हुन् ।

बैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउँदा दुईपटकसम्म उच्चारण गर्दासमेत ‘प्रतिज्ञा गर्दछुु” भन्ने वाक्यांशलाई उल्टै प्रधानमन्त्रीले राष्ट्रपतिलाई नै ‘त्यो पर्दैन’ भनी उच्चारण गरेका थिएनन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसी प्रधानमन्त्रीको उक्त कार्यको विरुद्ध रिट लिएर सर्वोच्च पुगेका हुन् ।

‘राष्ट्रपतिले सपथको ढाँचाबमोजिम सपथ वाक्यांश जे जस्तो पढ्नु हुन्छ सोही बमोजिम नै प्रधानमन्त्रीले सपथग्रहण गर्नुपर्ने हुन्छ,’ सर्वोच्चमा पेश गरिएको रिटमा भनिएको छ, ‘सपथको ढाँचालाई तलमाथि फेरबदल गर्न पाइँदैन । यदि यसो भयो भने संविधान, संविधानवाद, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रप्रतिको निष्ठामाथि नै मानमर्दन हुन पुग्दछ ।’

यद्यपि, उक्त रिट आइतबार दर्ता भएको छैन् ।