५ जेठ ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकाे निन्दा र भर्त्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गरेकाे छ ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी सचिवालयले प्रेस वक्तव्य जारी गरेर राष्ट्रियसभाकाे जेठ ६ मा हुन गइरहेको उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन एमाले अध्यक्ष ओलीले निर्वाचन आचार संहिता विपरीत कार्य गरेकोे भन्दै यस्तो बताएकाे हाे ।
जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको अवस्थामा सरकार प्रमुखले अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनको आधारभूत सिद्धान्त उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ ।
“यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।”
प्रधानमन्त्री ओलीले नेकपा एमालेका मतदातालाई आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन निर्देशन दिँदै नदिए क्षम्य नहुने विज्ञप्ति जारी गरेका थिए ।
ओलीकाे विज्ञप्तिका सवालमा आजै निर्वाचन आयोगले आचार संहिता विपरीत कार्य गरेकोे भन्दै सचेत गराएको थियोे ।