२९ बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६ जना सांसदले प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ ।
भारतले अतिक्रमण गरेको महाकाली पूर्वको भूभाग फिर्ता लिई राजनीतिक र प्रशासनिक उपस्थितिको माग गर्दै आइतबार सङ्कल्प प्रस्ताव दर्ता भएको हो ।
सत्तारुढ दलका सांसद गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले प्रतिनिभिसभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् ।
अन्तर्राष्ट्रिय सीमा विवादको हल ऐतिहासिक सन्धि, सम्झौता लगायत तथ्यका आधारमा हुनुपर्ने र नेपाल–भारत सीमाको हकमा सुगौली सन्धिमा आधारित हुनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।
भारतले नेपालको ४ सय वर्ग किलोमिटर भूभाग मिचेको दाबी प्रस्तावमा गरिएको छ । उक्त प्रस्ताव सभामुखले अनुमति दिएपछि मात्रै सदनमा छलफल आउनेछ ।