२८ असार ०७७, बारा । जिल्लाको परवानीपुर गाउँपालिकामा एक सत्तरी वर्षीय वृद्धले आत्महत्या गरेका छन् ।
परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।
स्थानीयले क्वारेन्टाइनबाट घर फर्किएका ती बृद्ध विक्षिप्त भएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।
स्थानीयका अनुसार उनले क्वारेन्टाइनबाट घर आएपछि आफन्तहरुसँग आफूलाई कोरोना भइसकेको र प्रहरी आएर लैजाने कुरा गर्दै आइरहेका थिए ।
वडाअध्यक्ष रामेश्वर प्रसाद साहका अनुसार ठाकुरले आफूसँग पनि कोरोना भइसकेको बताएका थिए ।
ठाकुरले ‘मलाई प्रहरी आएर लैजान्छ’ भनेको सम्झिदै अध्यक्ष साहले भने, ‘मैले पीसीआर रिपोर्ट नेगेटिभ आएर तपाईंलाई घर पठाएको हो, तनाब नलिनु भनेको थिएँ ।’
क्वारेन्टाइनबाट पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ठाकुर असार १९ गते घर फर्किएका थिए ।