१२ कार्तिक ०७८, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ ।
शुक्रबार बसेको बार कार्यसमिति बैठकले प्रधान न्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै पदबाट राजीनामा दिन भनेको हो ।
बार बैठकले गरेका सात निर्णयहरू यस्ता छन् :
१) प्रधान न्यायाधीशज्यूबाट विकृति, विसंगति, भ्रष्ट्राचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागीएको हुँदा प्रधान न्यायाधीशज्यूलाई सर्वोच्च अदालतको ईजलासमा नबस्न जोडदार माग गर्ने ।
२) मिति २०७८ कात्तिक १४, १५, १६ र १७ गतेसम्म प्रत्येक दिन बिहान १०ः०० देखि ११ः०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकाका बार इकाईका कानून व्यवसायीज्यूलगायत सम्पूर्ण कानून व्यवसायीलाई अनुरोध गर्ने ।
३) मिति २०७८÷०७÷१६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने ।
४) न्यायपालिकाको वर्तमान अवस्था र नेबाएको निर्णय बारेमा ९० वटै बार इकाईमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने ।
५) नेबाएका ९० वटै बार एकाईका अध्यक्ष र सचिवज्यूसँग भर्चुअल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव सङ्कलन गर्ने ।
६) उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने ।
७) नेबाएले न्यायपालिकाको समग्र सुधारका लागि र सेवाग्राहीलाई समान रूपमा सहज, सरल र शुपथ न्याय प्रदान हुने सुनिश्चितता गराउने उद्देश्यले यो बाध्यात्मक कार्यक्रम गरिएकोले यसमा सहयोग गरिदिनुहुन सम्पूर्ण कानून व्यवसायी, न्यायका उपभोक्ता÷सेवाग्राही, आम नागरिक समाज, सञ्चार जगत सबैसँग हार्दिक अनुरोध समेत गर्ने ।