नेपाल कम्युनिष्ट पार्टी : साइन्सको प्रगतिभन्दा तीब्र गतिमा !

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धुम्बराही र पेरिसडाँडाका पूर्वकेन्द्रीय कार्यालयको संयुक्तरुपमा अवलोकन गरेका छन् ।

अध्यक्षद्वय ओली र प्रचण्डले शुक्रबार दिउँसो धुम्बराहीस्थित विघटित एमालेको पूर्वकेन्द्रीय कार्यालय र पेरिसडाँडा कोटेश्वरस्थित विघटित नेकपा माओवादी केन्द्रको पूर्वकेन्द्रीय कार्यालय अवलोकन गरेका हुन् ।

कोटेश्वरस्थित माओवादीको पूर्वकेन्द्रीय कार्यालय अवलोकनपछि कार्यालयमै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डले अभिव्यक्त गरेको विचारलाई सम्पादन गरी विशेष सामग्रीका रुपमा प्रकाशित गरेका छौं ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली

हिजोबाट भाका अलि फेरिन थालेको छ : यो टिक्ने होइन क्यारे !

आज हामी एउटा नयाँ उचाईमा पुगेका छौं । नयाँ गन्तव्य तर्फ अगाडि बढेका छौं । नयाँ सङ्कल्पहरु गरेका छौं । मलाई खुसी लागेको छ । बलिदान र कठिनाईका श्रृङ्खलाहरु पार गर्दै यहाँ आइपुगेका छौं । यतिबेला हामीले एउटा ऐतिहासिक र महान कार्य गरेका छौं ।

श्रमजीवी जनताको, शहीदका सपनाहरुको, बेपत्ता पारिएका र घाइतेहरुका पीडाहरुको प्रतिनिधित्व गर्ने पार्टीहरु मिलेका छन् । उनीहरुका सपना पूरा गर्नलाई पनि हिजो (जेठ ३ गते)को दिन ऐतिहासिक दिन बनेको छ ।

कतिपयले अस्तिसम्म एकता हुँदैन् होला, कहाँ मिल्छ ? यी सब कार्यकर्ता अल्मल्याउने कुरा हुन् भन्दै थिए । तर, हिजोबाट भाका अलि फेरिन थालेको छ । एकता गर्न त सजिलो छ, टिकाउन गह्रो छ भन्न थालेका छन् । यो टिक्ने होइन क्यारे ! केपी ओली र प्रचण्ड एक ठाउँमा बस्न सक्छन् ? यस्ता अनेक कुराहरु हुन थालेका छन् ।

म साथीहरुलाई के भन्न चाहनछु भने, हामीहरु पार्टी प्रमुख भइसकेको, सरकार प्रमुख भइसकेका छौं । अब भूतपूर्वभन्दा माथि फोटो टाँसिने होइन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । म पनि दुई पटक प्रधानमन्त्री भएँ । जतिपटक प्रधानमन्त्री भए पनि भूतपूर्वभन्दा माथि फोटो टाँसिदैन् ।

माधव नेपालजी म दुईपटक भएकोभन्दा बढी एकै पटकमा हुनुभयो । सरकार प्रमुख भइसक्नुभएको छ । पार्टी प्रमुख कि प्रचण्डजीले ३० वर्ष चलाउनु भयो कि उहाँ (माधव नेपाल)ले १५ वर्ष चलाउनु भयो । अब हुन बाँकी के छ र ? लोभ के गर्नु प¥या छ र ? लोभमा हाम्रा कुरा मिल्दैन भन्नु बेकारका कुरा हुन् । यो विरोधीहरुले भन्ने कुरा हुन् । म सबैलाई ढुक्क हुन आग्रह गर्छु । हिजो उहाँ (प्रचण्ड)ले भावुक भएर भन्नुभयो, उहाँले आफूलाई निकै बुढो ठान्नुभयो ।

वैमनश्यता होइन, राष्ट्रिय एकता

हाम्रो काँधमा ठूलो अभिभारा आएको छ । बहुतै निष्ठा, स्पष्टताका साथ एकतावद्ध भएर दृढताका साथ पूरा गर्नेछौं । अब कम्युनिष्ट आन्दोलन टुटफुटतिर जानु हुँदैन् । मैले हिजो पनि बाँकी समूहहरुलाई पनि आग्रह गरेँ ।

वास्तवमा, मिलाउन गाह्रो थियो भने त एमाले र माओवादीलाई मिलाउन गाह्रो थियो । कोसँग कति सम्पति छ ? हिसाब किताब गरेनौं । सबै हाम्रो हो, भन्यौं । सबै सामुहिक भन्यौं । हामीहरुले त्यो भन्न सक्छौं भने अरु साथीहरुलाई के गाह्रो भयो र ?

सायद, कार्यालयसम्म भएको कुनै पार्टी छैन् होला ! आउहनुहोस् कार्यालयमा अफिस दिन्छौं । कोठा दिन्छौं । पद, ओहोदामा पनि कुनै अपमानजनक व्यवहार गर्दैनौं । विचारको कुरा भन्नुहुन्छ भने, नमिल्नु प¥यो भने मात्रै विचारको प्रश्न भनिन्छ । नमिल्न परेपछि विचारको प्रश्न गरिन्छ ।

हामी राष्ट्रियताको पहरेदार हो भन्दैछौं, उहाँहरु विचारको कुरा गर्नुहुन्छ । हामीले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्छौं, यसलाई कार्यान्वयन गर्छौं, अरु विचार के छ ? हामी जनताको हितको पक्षमा उभिन्छौं, अरु विचार के छ ? हामी सामाजिक विभेद अन्त्य गर्छौं, सामाजिक न्याय कायम गर्छौं, अरु विचार के छ ? वैमनश्यता होइन, सदभावका साथ राष्ट्रिय एकता कायम गर्छौं, अरु विचार के छ ? समृद्धिका निम्ति हामी काम गर्छौं, अरु विचार के छ ? अनि विचार मिलेन भनेर हुन्छ ? विचार मिलेन भन्नु बेकारका कुराहरु हुन् । विचार मिलेन, छुट्टै पार्टी चलाउँछु भन्नुहुन्छ भने अर्को कुरा हो ।

विचार नमिलेको त हाम्रो (एमाले र माओवादी) थियो । हामीले हतियार उठाएको बेला उहाँहरुले विरोध गर्ने, उहाँहरुले हतियार उठाएको बेला हामीले विरोध गर्ने, विचार त्यहाँ फरक परेको थियो नि ! त्योभन्दा बाहिर उहाँहरु (स-साना कम्युनिष्ट पार्टी)का के विचार छन् ? त्यस ठाउँबाट हामी एक ठाउँमा आएका छौं भने विचारमा समस्या हुनुहुँदैन ।

कहिलेकाहीँ अन्तरघुलित हुन केही समय लाग्छ । केहीबेर अघि धुम्बराहीमा हुँदा, अहिले यहाँ आएपछि पनि भनिराखेको जिब्रो फ्याट्ट ‘हाम्रो’ भन्ने कुरा आइहाल्यो । दुईचार पटक यसको संशोधन गरिराख्नु पर्छ । तर, यो विस्तारै मिल्दै जान्छ ।

हामी एउटै पार्टीमा भएर कोही पनि जन्मिएका छैनौं । हिजो माधव नेपाल र म अलग अलग पार्टीमा थियौं, वामदेव गौतम र म अलग अलग पार्टीमा थियौं, हामी सबै अलग अलग पार्टीमा थियौं । मेरो पार्टीको त कोही पनि छैन् । त्यसैले यो मिल्ने कुरा, पार्टी–पार्टी मिलेर पार्टी किन बन्न सक्दैन ?

नेकपा माओवादी केन्द्र र एमालेको विचार नमिलेको आजदेखि हो र ?

म २०२७ सालमा निर्मल लामाजी र मोहनविक्रमजीलाई खोज्दै काठमाडौं आएँ । उहाँहरु कता कता हुनुहुँदो रहेछ,  भेट भएन, म फर्किएँ ।

त्यसपछि ०२७ सालमै रामचन्द्र अधिकारी र रामनाथ दाहालजीलाई भेट्यौं, त्यसबेलादेखि नमिलेको । ४८ वर्षदेखि नमिलेको नमिल्यै । अहिले आएर मिल्यौं, मिल्ला जस्तै थिएन । त्यसबेला उहाँहरुले हतियार उठाएको थिएन । हामीले पनि हतियार उठाएको थिएनौं । त्यस्तो बेला त नमिलेको झन् हतियार उठाएर कोही जनयुद्ध, कोही के गर्दा–गर्दा अहिले आएर हामी मिल्यौं । मिल्न चाह्यो र मिल्नुको अर्थ बुझियो भने मिल्न सकिन्छ, मिल्यौं पनि । र, हामीले एकता गर्दा कुनै भ्रम नरहोस् ।

देशको हित छोडेर जनताको हित छोडेर परिवर्तनकारी मूल्य मान्यता छोडेर, सामाजिक न्याय र समानता, आदर्शहरुलाई छोडेर कुनै कुरासँग अनुचित सम्झौता गरेर मिलेको हो र ? देशको हित, जनताको हित परिवर्तनकारी मूल्य मान्यता सबै मिलाएर मिलेका हौं ।

देश र जनताप्रति हामी समर्पित छौं, हाम्रो आन्दोलन समर्पित छ । हाम्रा पार्टीरु समर्पित थिए, त्यसकारण मिल्न सक्यौं । त्यसको सिँहालीमा म साथीहरुको उत्साहलाई म धन्यवाद भन्न चाहन्छु ।

गणतन्त्र दिवस  जनकार्यक्रममा विस्तार

हामी जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै छौं । आज गणतन्त्र दिवसको मूल समारोह समिति बन्यो । देशको प्रधानमन्त्रीको हैसयतले त्यसको अध्यक्ष म हुँ ।

गणतन्त्र दिवस सरकारी जस्तो भएको छ । सरकार भनेको राजतन्त्र हुँदा पनि हुने, जहिले पनि हुने चिज हो । तर गणतन्त्रका लागि जनता लडेका थिए । त्यसैले यसलाई सरकारी कार्यक्रम जस्तो मात्रै होइन कि राष्ट्रिय कार्यक्रम जनकार्यक्रम बनाउनु पर्दछ । सरकारी कार्यक्रममा सीमित राख्ने होइन, जनकार्यक्रममा विस्तार गर्नु पर्दछ ।

सत्ता कहिले कसको हुन्छ, कहिले कसको हुन्छ तर यसको अर्थ कहिले कसको हुन्छ, कहिले कसको हुन्छ भन्दा अब अरुको पनि आउँछ कि भन्ने नसोचे हुन्छ । नेपालमा कम्युनिष्टहरु धेरै गम्भिर छन् । गल्ती गर्दैनन्, भ्रष्ट हुँदैनन् । नचाहिने काम गर्दैनन् । जनताले मन नपराउने काम गर्दैनन् । जनतालाई नचाहिएका कुरा गर्दैनन् । विकास विरोधी कुरा गर्दैनन् । त्यसकारण कम्युनिष्टलाई टक्कर दिने कोही पनि छैन् ।

रातभरिमा तङ्ग्रिएको काँग्रेस

आज एउटा पत्रिकाले लेखेछ, काँग्रेस फेरि तङ्ग्रिन थाल्यो रे ! हिजोको आज कसरी तङ्ग्रियो । च्यावनप्रास खुवाएछ क्या हो ! नतङ्ग्रियोस् भन्ने मेरो भनाई होइन् तर हद हुन्छ नि, रातैभरिमा तङ्ग्रिने !

हामी एउटा महान् उद्देश्यतर्फ गइरहेका छौं । यस उद्देश्यमा अविचलित ढङ्गले दृढता र सक्रियताका साथ अगाडि बढ्छौं । यो एकता अत्यन्तै स्वागत योग्य छ । एकतालाई सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक र नेपालको भलो चाहने तमाम जनताले जयजयकार गरेका छन् । स्वागत गरेका छन् । यस्तो एकता सायद कमै हुन्छ, जहाँ सबैले स्वीकार गर्दछ ।

हाम्रो एकता अमर मात्रै रहँदैन फल्छ, फुल्छ, सफल हुन्छ । अगाडि बढ्छ । त्यसकारण एकताका सन्दर्भमा म दुई वटा नारा मात्रै भन्छु । ‘हाम्रो एकता अमर रहन्छ’, त्यतिले मात्रै पुग्दैन, ‘फल्छ, फुल्छ’ । सबै साथीहरुलाई धन्यवाद !

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

पार्टीका सबै भौतिक संरचनाहरु, सम्पतिहरु नेपाल कम्युनिष्ट पार्टीका सम्पति

हामीले भन्नु पर्ने धेरै कुराहरु हिजो (जेठ ३ गते, एकीकरण घोषणा कार्यक्रममा) भनिसकेका छौं ।

पूर्वकेन्द्रीय कार्यालयहरुको अवलोकन गर्दै गर्दा आउने दिनका निम्ति यी कार्यालयहरुलाई हामीले हिजो नै ऐतिहासिक निर्णय गरिसकेका छौं ।

पार्टीका सबै भौतिक संरचनाहरु, सम्पतिहरु नेपाल कम्युनिष्ट पार्टीका सम्पति हुनेछन् । साधन स्रोत जे जे छन्, ती सबै नेपाल कम्युनिष्ट पार्टीमा हस्तान्तरण गरिएको सन्दर्भमा हामी दुबै अध्यक्ष, सचिवालय र महासचिव समेतले दुबै कार्यालयको संयुक्त अवलोकन गर्ने र यी कार्यालयहरुलाई आउने दिनमा कसरी प्रभावकारीरुपमा परिचालन गर्न सकिन्छ भन्नेबारेमा अवलोकन गर्नका लागि धुम्बराही गयौं र त्यहाँ हामीले संयुक्त अवलोकन ग¥यौं । र, अहिले यहाँ पेरिसडाँडामा पनि अवलोकन गरेर सक्यौं । यसले पनि एउटा सन्देश दिन सफल भएको छ ।

संगठनात्मक गतिविधि एकीकृतरुपले हेडक्वाटरबाट सुरु

हिजो पार्टी एकीकरण भयो, ऐतिहासिकरुपले हामीले नयाँ पहल ग¥यौं । आज हामी संगठनात्मक रुपले हाम्रा गतिविधिहरुलाई एकीकृतरुपले अघि बढाउने सबैभन्दा मुख्य ठाउँ हेडक्वाटरबाट नै त्यो कामको सुरुवात गरेका छौं ।

तलसम्म एकीकरणको प्रक्रियालाई सहज बनाउन र जनतामा सन्देश दिन दुई हेडक्वाटरको एकीकरण र एकीकृत परिचालनबाट सुरु गर्नुपर्छ भन्ने मान्यताअनुसार आज हामी हिजोका दुबै कार्यालयहरु साइनबोर्डको रुपमा यद्यपि सबै परिवर्तन गर्न भ्याइसकेको त छैन् । धुम्बराहीमा पनि, नेपाल कम्युनिष्ट पार्टीको रुपमा साइनबोर्ड र यहाँ पेरिसडाँडामा पनि नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड अन्तर्गत हामीले अवलोकन ग¥यौं ।

यहाँ उत्साहका साथ पत्रकार मित्रहरुले पनि निकै महत्व दिएर धुम्बराही र यहाँको हाम्रो अवलोवन कार्यलाई समेत जनताको बिच लैजान सहयोग गर्दै हुनुहुन्छ, तपाईंहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । साथै, बडो उत्साहको साथ हामी दुबै अध्यक्ष र सचिवालयका नेताहरुलाई स्वागत गर्न तपाईंहरु जो सहभागी हुनुभयो सबैलाई धन्यवाद भन्न चाहन्छु ।

साइन्सको प्रगतिभन्दा तिब्र गतिमा नेपाल कम्युनिष्ट पार्टी

इतिहास नयाँ सुरु भएको छ । पहिला–पहिला लेनिनले भन्ने गर्नुहुन्थ्यो, इतिहास रेल इन्जिनको गतिमा हिँड्छ । त्यतिबेला जेट विमान र रकेटहरु बनिसकेका थिएनन् । हामी के भन्न सक्छौं भने, हाम्रो नेपाल कम्युनिष्ट पार्टी तिब्र गतिमा, अहिलेको साइन्सले जे प्रगति गरेको छ, त्यसलाई पनि पचाएर गति पैदा गर्छ ।

यही आग्रह, शुभकामनासहित सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अवलोकनमा सहभागी सबै कमरेडहरुलाई धन्यवाद भन्न चाहन्छु । र, मेरा दुई शब्द यही टुङ्याउँछु धन्यवाद !

तपाइको मत