नेपाली सेना संवैधानिक र कानुनी व्यवस्था अनुरुप परिचालित – रक्षामन्त्री ईश्वर पोखरेल

४ असार ०७७, काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना संवैधानिक र कानुनी व्यवस्था अनुरुप परिचालित रहेको बताएका छन् ।

सांसदहरूले बुधबार राष्ट्रिय सभामा उठाएका सवालहरुको जवाफ दिने क्रममा रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

नेपाली सेनाको भूमिकालाई लिएर कतिपयले प्रश्नहरू उठाउने गरेको भन्दै उनले भने, “नेपाली सेनालाई कुन ठाउँमा कहिले जिम्मा दिने स्पष्ट संवैधानिक र कानुनी व्यवस्था छ, त्यही अभ्यासलाई सरकारले अगाडि बढाइरहेको छ ।”

उनले सङ्घीय कानुनअनुसार विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य काममा सरकारले सेनालाई लगाउन सक्ने स्पष्ट व्यवस्था रहेको जानकारी दिँदै सैनिक ऐनअनुसार विकास निर्माण, विपद् व्यवस्थापनमा उपयोग गर्न सक्ने व्यवस्था पनि रहेको स्मरण गराए ।

उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पोखरेलले राष्ट्रिय आवश्यकता र परिस्थितिले सेनाको उपयोग हुने गरेको बताउँदै विकास निर्माण, विपद् व्यवस्थापन, बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, अति विशिष्ट व्यक्तित्वको सुरक्षा, प्रकृति संरक्षण, विश्व शान्ति स्थापनाजस्ता काममा नेपाली सेना प्रक्रियासङ्गत ढङ्गले परिचालित हुने बताए ।