चन्द्र भुषण साह/काठमाडौं ।
नेपालको कुनै पनि राजनीतिक पार्टीको मूल संगठनमा युवाहरुको नेतृत्व, पहुँच निर्णायक तहसम्म लगभग शुन्य छ ।
हरेक नीतिको मूल नीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लग्न सक्छ तर विगतदेखि वर्तमानसम्म भएका राजनीतिक परिवर्तनको आन्दोलनहरुमा युवाहरुले सक्रिय सहभागिता, बलिदानीको सम्बाहकको रुपमा अग्रपंक्तिमा आफ्नो भूमिका दर्ज गराएका छन । तथापि, परिवर्तित अवस्थाको व्यवस्थापक युवा नै भएको उदहारण विरलै पाइन्छ । यसकारण पनि युवा आरक्षण जरुरी छ ।
राष्ट्रका सच्चा पहरेदार, परिवर्तनका हिमायती, क्रियाशील, आधुनिकीकरणलाई अँगाल्न सक्ने र भविष्यलाई नयाँ सोच र कार्यदिशा प्रदान गर्न सक्ने अग्रगमनका लागि क्रियाशील उर्वर युवा शक्तिलाई राष्ट्र निर्माणको मूल प्रवाहमा नल्याई परिवर्तनको सम्भव छैन् ।
नेपालमा युवाहरु सहायक तथा जनवर्गीय संगठनको रुपमा विगतदेखि नै प्रयोग निरन्तर हुँदै आइरहेका छन् । तर, राज्यको प्रभावशाली एवम् गरिमामय सार्वजनिक पदहरुमा युवाहरुलाई अघोषित रुपमा निषेध गरिएको यथार्थ हामी सामू छरपस्ट नै छ ।
राज्यको विभिन्न निकायमा पछिल्ला केही वर्षयता विगतका तुलनामा आन्दोलनको माग, चर्को जनदबाब, युवाहरुको सोच र कार्यशैलीप्रतिको बढदो लोकप्रियताले युवाहरुको झिनो रुपमै भएपनि सहभागितामा भएको देखिन्छ । तर, यसलाई सकरात्मक सुरुवातका रुपमा लिन सकिए पनि सन्तुष्ट हुने अवस्था छैन् ।
नेपाली राजनीतिमा युवा आरक्षणको आवश्यकता महसुश हुनुको पछाडि परम्परागत सोच–चिन्तन र अभ्यासबाट उत्पन्न समाजिक र राजनीतिक परिस्थिति र घोषित तथा अघोषित राजनीतिक निषेध नै रहेको पाइन्छ ।
यद्यपि, त्यसको ठीक विपरीत अपवादका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिकूल अवस्थाको बाबजुद पनि नयाँपनाको प्रयोग गरी केही युवाहरु उदाहरणीय कार्य गर्न सफल भएका छन् ।
नेपाली राजनीतिमा युवा जमातलाई अपनत्व महशुस गराउन साथै युवाको भावनालाई कुण्ठित नगरी विचारको माध्यमले युवाको भविष्य युवाबाट सबल र सशक्त बनाउन युवा आरक्षणको अपरिहार्यता रहेको देखिन्छ ।
नेपाली राजनीतिमा युवाहरुको आरक्षण प्रयोग अंक गणितीय, तथ्यांकशास्त्रीय, ज्यामितीय तथा अन्य वैज्ञानिक उपकरणहरुको प्रयोगले अनिश्चिततामा निश्चितता प्रदान गरे जस्तै हुनसक्छ । राजनीतिप्रतिको सामाजिक मोह र आदर्शलाई माथि उठाउनका लागि समेत यसको आवश्यकता बढेको देखिन्छ ।
वर्तमान राजनीतिक परिस्थिति र पृष्ठभूमिलाई मध्यनजर गर्ने हो भने राजनीतिक रुपमा सङ्कुचनमा परेका, आर्थिक रुपमा कमजोर, समाजमा क्षमताप्रतिको आशंका, घृणित खेलको रुपमा स्थापित राजनीतिप्रतिको युवा आदर्श र धारणा, अभिभावकको अपेक्षा र चलेको चलन जस्ता आधारभूत कारणले गर्दा आम युवालाई विना आरक्षण राजनीतिमा सहभागिता गराउन केही समय लाग्ने पनि देखिन्छ ।
त्यसकारण, नेपाली राजनीतिमा युवा आरक्षणका सवालमा इमान्दारितापूर्वक खुलेर बहस प्रारम्भ हुनु जरुरी छ । साथै, समयानुकूल न्यायोचित, व्यवहारिक एवम् वैज्ञानिक प्रयोग र अभ्यासमाथि जोड दिनु आजको आवश्यकता हो । र, समयको माग पनि हो ।
अतः वृद्धको अनुभव र युवाको आँकलन, वृद्धको होश र युवाको जोश बीचको सन्तुलनका निम्ति वर्तमान राजनीतिमा युवाहरुको नेतृत्व र निर्णायक शक्ति केन्द्रहरुमा पहुँच आवश्यक रहेको देखिन्छ ।
लेखक, राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी नेता हुन् ।