९ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार भएको मतदानमा प्रतिद्वन्द्वी सूर्यप्रसाद रेग्मीलाई १२ सय १८ मत अन्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।
विजयी श्रेष्ठले ३४ सय ६२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रेग्मीले २२ सय ४४ मत प्राप्त गरेका निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको छ ।
त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छिन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गर्दै निर्वाचित भएकी हुन् ।
विजयी न्यौपानेले ३३ सय ६६ प्राप्त गरेकी छिन् भने गौचनले २३४० मत प्राप्त गरेको आयोगले जानकारी दिएको छ ।