१४ साउन ०७४, काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
शनिबार बिहान साढे २ बजेतिर नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बाह्र जनाको बुटवल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका स्थानीय प्रहरीले जनाएको छ। बस तीव्र गतिमा भएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनापछि बसका चालकलाई दाउन्ने प्रहरीले नियन्त्रणमा लिएको छ ।