नयाँ शक्ति संयोजकको निजी सम्पति नहुने अरुले जति जोडे पनि हुने !

हाकाहाकी समाचार/टिप्पणी
३२ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जेठ ३० गते दशरथ रङ्गशालामा पार्टी घोषणा गरेर आफ्नो नाममा निजी सम्पति केही नहुने घोषणा गर्दै गर्दा कार्यक्रममा उपस्थित नयाँ शक्तिका कार्यकर्ताले बुझेर हो या नबुझेर ताली राम्रै बर्साएका थिए ।

n1

डा.भट्टराईले पार्टी घोषणा सभालाई सम्बोधन गर्नेक्रममा स्वर्गीय आमालाई सम्झँदै भावुक बनेर आफूले ‘पिएचडी’ अध्ययन गर्दा आफ्नी आमालाई गाउँमा मान्छेहरुले छोराले कति पढेको छ ? भनेर प्रश्न सोध्दा आमाले ‘पिएचडी’ भन्न नजानेर प्याजको टुक्रा साथमै बोकेर हिँड्ने गरेको स्मरण गर्दै आमाले प्याजको टुक्रा हेर्दै ‘प्याचडी’ पढेको भनेर गाउँमा बताउने गरेकी थिइन रे !’ भन्दै आफू त्यस्तो परिवारबाट हुर्केर मुलुकको कार्यकारी प्रधानमन्त्री बनिसकेकाले आफूलाई कुनै पदको लोभ नभएको बताएका थिए । उनले अहिले पनि नेपालमा त्यस्ता आमाहरु धेरै रहेको बताउँदै आफूले उनीहरुको पक्षमा काम गर्ने बताए ।

n2

तर, उनै डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुकुम्बासी बस्तीमा डोजर चलाउन आदेश दिए । र, वृद्धवृद्धा आमा–बुवाहरु, सुत्केरी र साना नानीहरुको बिचिल्ली बनाएको दिनहरु त्यति पुरानो भएको छैन् । भट्टराईले सुकुम्बासी बस्तीमा स–साना नानीहरु अध्ययन गर्न बनाइएको स्कुल समेत भत्काएर वर्षात्को झरीमा बिचिल्ली नै पारे । तर, तिनै भट्टराई यतिबेला उत्पीडित वर्गलाई भेला गरेर आर्थिक विकास र समृद्धिका कुरा गर्दैछन् । बिडम्बना, भट्टराईले आफ्नी छोरी मानुषीलाई भारतमा पिएचडी अध्ययन गराउँदै छन् ।

n3

डा.भट्टराईले प्रधानमन्त्री हुँदा सुकुम्बासी बस्तीमा डोजर चलाउन आदेश दिने तर अहिले नयाँ शक्ति भन्दै आम उत्पीडित वर्ग, क्षेत्र साथै उत्पीडित जाति समुदाय, देश र जनताको मुक्तिका नाममा चर्को कुरा गर्न मिल्छ  ?

नयाँ संविधान निर्माणका क्रममा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेर संविधान जारी गर्न हस्ताक्षर ठोक्ने तर नयाँ संविधान जारी भए लगतै संविधानको विरोध गर्दै नेपालमा नयाँ शक्ति चाहिएको बताएर जिम्मेवारीबाट भाग्ने डा.भट्टराईको कदमलाई के भन्ने ?

यसैगरी डा.भट्टराईले पार्टी घोषणा सभामा २५ वर्षभित्र नेपाललाई विश्वकै धनी मुलुकको कोटीमा दर्ज गराउन सकिने नयाँ शक्तिसँग योजना रहेको बताए । किसानको उचित व्यवस्था गरिने घोषणा गर्दै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने समेत बताए । तर, उनले आफ्नो एक मात्र छोरी मानुषी भारतमा पिएचडी अध्ययनरत् गरिरहेको खुलाउन चाहेनन् । यद्यपि, उनले छोरीको गहिरो गरी माया लागेकै कारण कार्यक्रममा गला अवरुद्ध भने पारेका थिए ।

भारतमा पिएचडी गर्दै गरेकी छोरी मानुषीको नाम लिँदा भावुक बनेका डा.बाबुराम भट्टराई निम्न प्रसङ्गमा किन भावुक नबनेको होला ? जनयुद्धका सहिद, वेपत्ता परिवारजनको सामुहिक प्रश्न यस्तो छ :

डा.भट्टराई तपाईंले भन्नुभो कि, ‘नेपाल राष्ट्र निर्माणका क्रममा गोपाल वंश, किराँतकाल, लिच्छवी काल हुँदै पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेर सिङ्गो देश निर्माण गरेदेखि २००७ साल, ०३६ साल, ०४६ हुँदै जनयुद्धसम्म आइपुग्दा हजारौं नागरिकले परिवर्तनका लागि बलिदानी गरे ।’

जनयुद्धमा आफैँले नेतृत्व गरेर देश जनताको मुक्तिका नाममा उत्पीडित वर्ग, जाति, क्षेत्रलाई मुक्तिको सपना देखाएर मान्छे मार्न र मर्न लगाउने तपाईं अहिले तिनै जनयुद्धका सहिद, वेपत्ता, घाइते, अपाङ्गहरुको पूरै अपमान हुने किसिमले खुल्ला कार्यक्रममा बोल्न कुनै संकोच  र पश्चताप भएन ?

महान् सहिदहरुको बलिदानीबाट मात्रै डा.भट्टराई, राष्ट्रको नेता र नेतृत्व बनेको हो भन्ने बिर्सिएर आफ्नी छोरीको नाम पटक–पटक उच्चारण गर्दा भावुक हुने तपाईं डा.भट्टराई जनयुद्धमा काख रित्तिएका आमा, सिउँदो पखालिएका चेली र ती महान् सहिद अनि बेपत्ताहरुप्रति किन मौन ?

डा.भट्टराईले नयाँ संविधान घोषणा भएसँगै नेपाल तेस्रो चरणको युगमा प्रवेश गरेको बताउँदै नयाँ पार्टी गठन गरेर जनयुद्धका सहिदहरुलाई भूल्नु उनीहरुप्रतिको सोझै अपमान होइन् र ? जे जति योद्धाहरु जनयुद्धमा होमिए, ती योद्धाहरु मूर्ख भएर होमिए, त्यसैले मारिएका हुन् ?

डा.भट्टराई जनयुद्धको सकारात्मक र नकारात्मक पक्षको कुनै पनि जिम्मा नलिर्ई दुई वर्षमा नयाँ पार्टी सबैभन्दा ठूलो पार्टी बन्छ भन्दै लफ्फाजी गर्ने समय हो यो ?

भट्टराई आफूले निजी सम्पति केही पनि नराख्ने र जनताको घर नबनेसम्म आफूले पनि घर नबनाउने घोषणा गर्दै गर्दा रङ्गशालामा उपस्थित नयाँ शक्तिका कार्यकर्ताले ताली बर्साए । तर, ताली बर्साउने कार्यकर्तालाई के थाहा भूतपूर्व प्रधानमन्त्री लगायत उच्च पदस्थ पूर्व विशिष्ट पदाधिकारीले राज्यकोषबाट वार्षिक करिब ४० लाख रुपैयाँ बराबरको सेवा–सुविधा उपभोग गरिरहेका छन् । र, नयाँ शक्तिका संयोजक भट्टराई ती सुबिधाहरु भोग गर्ने भित्र पर्दछ भनेर कार्यकर्तालाई जानकारी छ ?

डा.भट्टराईले यस अर्थमा दिउँसै रात पारे, ‘नेपालमा वार्षिक एक लाख रुपैयाँ कमाउन नसक्ने जनता छन् । ती जनता र उनका आफ्नै कार्यकर्तालाई समेत ढाँटेर आफूले निजी सम्पति केही पनि नराख्ने रे ! जनताको घर नबनेसम्म आफूले पनि घर नबनाउने रे ! उनले यी विषय घोषणा गरिरहेको सन्दर्भमा के डा.भट्टराईले राज्यबाट प्राप्त सबै सुबिधाहरु आजैबाट छोड्न सक्छ त ?

अनि डा.भट्टराईको पार्टी नयाँ शक्तिका सबै केन्द्रीय सदस्यहरुले भट्टराईले भने झैं निजी सम्पति केही राख्ने छैनन् त ? के नयाँ शक्तिका कार्यकर्ताले निजी सम्पति केही नराखेर देश र जनताको पक्षमा काम गर्ने छन ?

यो पक्का छ, ‘डा.भट्टराईले बाहेक नयाँ शक्तिका कसैले निजी सम्पति छोड्ने छैनन् । सायद, बाबुरामले पनि राज्यकोषबाट सम्पूर्ण सेवा–सुविधा नपाएको भए यस्तो घोषणा गर्ने थिएनन् । तर, उनको घर नभएर के भो त ! श्रीमती, छोरी–ज्वाईं छँदैछ । उनले छोरी, श्रीमती र ज्वाईंको निजी घर हुने वा नहुने ? केही नबताएर सम्पूर्ण कार्यकर्तालाई राम्रैसँग जालमा फसाए ।

तपाइको मत