नयाँ शक्ति वाम-गठबन्धनबाट बाहिरियो, एमाले-माओवादीले यसो गरे मात्रै चुनावी तालमेल हुने

२७ असोज ०७४, काठमाडौं । नयाँ शक्ति पार्टीका संसदीय मामिला विभाग प्रमुख केशव दाहालले आफ्नो पार्टीले उम्मेदवारी दिएका ठाउँमा एमाले र माओवादी केन्द्रले उम्मेदवारी नदिए मात्रै चुनावी तालमेल हुन सक्ने बताएका छन् ।

नयाँ शक्तिको बिहीबार बसेको संघीय सचिवालयको विस्तारित बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले आफ्नो पार्टीले उम्मेदवारी दिएका ठाउँमा एमाले र माओवादी केन्द्रले उम्मेदवारी नदिए तालमेल हुन सक्ने बताएका हुन् ।

एमाले-माओवादी गठवन्धनसँग १५ प्रतिशत सिट माग गरेको नयाँ शक्तिले संयोजक डा. बाबुराम भट्टराईलाई गोरखा २ बाट निर्वाचनमा उम्मेदवार बनाउन जोड गरेका थिए । तर, गोरखा २ बाट माओवादी केन्द्रका नेता नारायणकाजी निर्वाचन लड्ने भएपछि  नयाँ शक्ति असन्तुष्ट भई चुनावी तालमेलबाट बाहिरिएको हो ।

नयाँ शक्ति ‘आँखा’ चुनाव चिन्ह लिएर लड्ने

नयाँ शक्ति नेपालले एमाले–माओवादी गठवन्धन सहमतिको मर्म विपरीत गएको भन्दै प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा आँखा चुनाव चिन्ह लिएर चुनाव लड्ने निर्णय गरेको छ ।

एमाले-माओवादीबीच भएको चुनावी तालमेल र एकता प्रक्रियामा समेत सहमति जनाउँदै एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा जाने तयारीमा रहेको नयाँ शक्ति अन्ततः गठबन्धनबाटै बाहिरिन पुगेको छ ।

नयाँ शक्तिले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।’

बाबुराम भट्टराई गोरखा २ बाट उम्मेदवार

वाम गठवन्धनबाट बाहिरिएसँगै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ ।

यस्तै कैलाली ३ मा कृष्णकुमार चौधरी र कपिलवस्तु १ मा दानबहादुर चौधरी, रसुवामा प्रेम तामाङ र खोटाङमा मदन राईलाई उम्मेदार घोषणा गरेको छ ।

तपाइको मत