धनकुटावासीले गरे सांकेतिक रुपमा राजधानी घोषणा, सरकारी कार्यालयमा प्रदेश सरकारको साइनबोर्ड राखियो

२३ पुस ०७४,  काठमाडौं । धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका जिल्लावासीले क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालयमा  प्रदेश सरकारको साईनबोर्ड राख्दै सांकेतिक रुपमा राजधानी कायम गरिएको घोषणा गरेका छन् ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र राई तथा प्रदेशसभा सदस्य निरन राईको नेतृत्वमा रहेको समुहले जिल्लालाई स्व:घोषित राजधानी घोषणा गरेका हुन् । सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका जिल्लाबासीले धनकुटा बजारका विभिन्न भागमा नारा जुलुश गर्दै सरकारी कार्यालयमा विभिन्न ११ मन्त्रालयको साईनबोर्ड टॉगेका छन् ।

पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र रहेको धनकुटामा पर्याप्त पुर्वाधार, उपयुक्त हावापानी, सामरिक दृष्टिले सबल रहेकोले राजधानी कायम गरिनु पर्ने प्रनिनिधिसभा सदस्य राईले बताए ।

यसक्रममा क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय, सामुदायिक भवनलाई प्रदेशसभा भवन, आवास तथा सहरी विकास डिभिजनमा प्रदेशसभा सचिवालय, सरकारी वकिलको नवनिर्मित भवनमा स्वास्थ्य शिक्षा तथा सामाजिक विकास, प्राविधिक कार्यालयमा उद्योग मन्त्रालय, मालपोतमा कृषि भुमि व्यवस्थापन सहकारी र पशु मन्त्रालय, जिल्ला समन्वय समितिको आवास भवनमा पुर्वाधार विकास मन्त्रालय तथा प्राविधिक कार्यालयमा उद्योग मन्त्रालय, सिञ्चाई डिभिजनमा सिञ्चाई मन्त्रालयको साईनबोर्ड राखिएका छन् ।

 

आइतबारदेखि बिहान ८ देखि अपरान्ह ४ बजेसम्म यातायात बन्द गरिने समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । हिजो सॉझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात खुलाईएको थियो । तर बिहान ८ बजेदेखि पुन: यातायात बन्द रहेको छ ।

यसैगरी, धनकुटाबासीले काठमाडौंमा पनि दवावमुलक गतिविधि गर्दै आएको प्रादेशिक राजधानी अभियान समितिका संयोजक सांसद निरन राईले बताए ।

धनकुटालाई प्रदेश राजधानी माग गर्दै आन्दोलन गरिरहेको प्रादेशिक राजधानी धनकुटा निर्माण समितिको अगुवाईमा बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास घेराउ गर्दै धनकुटेली जनताले  बिहान साढे ८ देखि ११ बजेसम्म धर्ना दिएका छन ।

धर्ना कार्यक्रममा राजनीतकि दलका अगुवा, सामाजिक व्यक्तित्व तथा धनकुटा घर भएर काठमाडौंमा बसोबास गरिरहेका धनकुटेलीको उल्लेख्य सहभागिता थियो । धर्ना कार्यक्रम सोमबार पनि रहेको समितिका सदस्यहरुले जनाएका छन् ।

एक महिनादेखि जारी आन्दोलनले पछिल्लो समय आमहड्तालको रुप लिएको छ ।

तपाइको मत