६ चैत्र ०७४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) नेतृत्वको केन्द्रीयस्तरका नेतासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार मध्य राति पार्टीको केन्द्रीय सदस्य तथा मध्य कोसीब्यूरो इन्चार्ज किरण राईसहित धनकुटाको हिलेको एक होटलमा बसिरहेका बैठकस्थलबाटै आठ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कोसीब्यूरो सदस्य दिप्सन लिम्बु (सागर), धनकुटा जिल्ला इन्चार्ज माधव शर्मा (आकाश), संखुवासभा इन्चार्ज राजकुमार डंगोल तथा सेक्रेटरी दिव्य बराल, धनकुटा जिल्ला सेक्रेटरी नवराज भट्टराई, तेह्रथुम जिल्ला सेक्रेटरी कमला लिम्बु र सदस्य फुर्वा तामाङ रहेका छन् ।
केही दिनयता जिल्लास्थित विभिन्न स्थानीय तह खाली गर्न पत्राचार गरेको तथा चन्दा माग्दै सर्वसाधारणलाई सास्ती दिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
पक्राउ पर्ने सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुलाई म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले उक्त समुहका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर छोडेको थियो ।