६ जेठ ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्ष दल बीच सदनलाई सचारु गर्ने र परिवर्तन विरोधीविरुद्ध सहकार्यको आवश्यकताबारे छलफल हुने गरेको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण समारोहलाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दल (काँग्रेस, एमाले र माओवादी) छलफलमा बस्दा विभिन्न कोणबाट आशंका व्यक्त गरिएको भन्दै यस्तो बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही छुट्न नहुने र निर्दोष का्ही पर्न नहुनेमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा रहेको बताउँदै उनले भने, “सदनलाई सचारु गर्ने र परिवर्तन विरोधी विरुद्ध सहकार्यको आवश्यकता बारे छलफल गर्नका लागि मात्रै हामी बस्ने गरेको हो । म तपाईंहरु सबैलाई विश्वास दिलाउन चाहन्छु ।”
“भुटानी शरणार्थीको इश्युलाई लिएर हामीले, हाम्रो सोझो सफा धारणा बनाएका छौं, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् । र, प्रहरीको अनुसन्धानलाई कहीँ कतैबाट दबाब, हस्तक्षेप हुन नपाओस् हामीले भित्र-बाहिर गरेको कुरा यही हो” उनले भने ।
यस्तै सत्तापक्ष र प्रतिपक्षको भेटघाटको उद्देश्यलाई प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “जनयुद्ध र जनआन्दोलन लगायत सबै न्यायपूर्ण आन्दोलन र हजारौंका बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस, दुस्साहस एकथरि मान्छेले गर्नेगरेको हामी सबैले धेरथोर महशुस गरेकै छौं । हामी त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै बिस्तृत शान्ति सम्झौता र संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा एकसाथ उभिएका प्रमुख दलहरु अहिलेको देशको परिस्थितिमा एकठाउँमा उभिनुपर्ने अवस्था फेरि आउनसक्छ भन्ने पनि हो ।”