काठमाडौं ।
२०७५ मंसिर १८ गते अन्नपूर्ण पोष्टमा प्रकाशित ‘राहादानी रोक्का गरिएका मजदुर नेता कसरी पुगे कोपनहेगन’ भन्ने समाचारप्रति म मजदुर शहीद स्मृति उपभोक्ता सहकारीको तत्कालिन कोषाध्यक्ष हुनुको नाताले गम्भीर ध्यानाकर्षण भएको छ ।
म दोलखा जिल्ला साविक बुलुङ्ग गा.वि.स. वडा नं. १ स्थायी घर भएको सामान्य किसान परिवारमा जन्मेर हुर्केको व्यक्ति हुँ । घरको न्यून आर्थिक अवस्थाका कारण म किशोर अवस्थामा नै काठमाडौं आई मजदुरी गर्दै मजदुर संगठनमा संगिठत हुँदै गएँ । २०५३ सालबाट माओवादी पार्टी निकट मजदुर संगठनमा संगठित हुँदै पार्टी र संगठनले पार्टी भूभिगत हुँदा प्रदान गरेको सांगठनिक र फौजी तथा शान्ति प्रक्रिया पश्चात् विभिन्न कालखण्डमा प्रदान गरेको सबै किसिमको जिम्मेवारी मेरो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक पूरा गर्दै आइरहेको छु ।
२०६२/०६३ सालमा पार्टी शान्ति प्रक्रियामा आए पश्चात् हाम्रो संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको संगठनात्मक बिस्तार पनि अत्यन्तै तीब्र गतिमा भयो । देशको सबैभन्दा ठूलो ट्रेड यूनियन अखिल नेपाल ट्रेड यूनियन महासंघ नै बन्यो । महासंघले सहकारी मार्फत् मजदुरहरुको बचत परिचालन गर्ने र उनीहरुको बचतको संरक्षण गर्दै उनीहरुलाई नाफा प्रदान गरी मजदुरहरुको जीवनस्तर उकास्न सकिन्छ भन्ने अठोट गर्दै महासंघको प्रत्येक सदय सहकारीको अनिवार्य सदस्य बन्ने र उपत्यकाभरि सहकारीका खाद्यन्न पसलहरु सञ्चालन गरी बजारमाथिको एकपक्षीय एकाधिकार माथि हस्तक्षेप कायम गर्ने अल्पकालिन तथा दीर्घकालीन योजनाका साथ मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लि.को स्थापना भएको थियो ।
हामीले अखिल नेपाल ट्रेड यूनियन महासंघको केन्द्रीय समितिबाट निर्णय गरेर नै २०६६ मा सहकारी डिभिजन कार्यालयमा मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लि. को दर्ता नं. (द.नं.२७४४/०६६/०६७) रहेको सहकारी संस्था स्थापना गरेका हौं । ट्रेड यूनियन आन्दोलनलाई नै सहकारी र उत्पादनसँग जोडेर लैजाने प्रमुख नीति तय गर्दै तत्कालीन महासंघका महासचिव गणेश रेग्मीको अध्यक्षतामा र सहकारीले गरेका सम्पूर्ण काम कारवाहीहरुलाई नियमन, नियन्त्रण तथा अनुगमन गर्न महासंघका अध्यक्षलाई नै सहकारीको संरक्षक रहने निर्णय गरेको थियो । सञ्चालक समितिमा महासंघका विभिन्न पेशाका नेतृत्वहरु रहने निर्णय भयो । अखिल नेपाल ट्रेड यूनियन महासंघमा आवद्ध पेशागत संगठनहरु सहकारीको संस्थापक सदस्य बन्ने र देशभरका महासंघका विभिन्न पेशामा संगठित सदस्यहरु अनिवार्य सहकारीको साधारण सदस्य रहने गरी सहकारीको बिस्तार गरिएको थियो ।
म अखिल नेपाल यातायात मजदुर संघको तत्कालिन कोषाध्यक्षको नाताले संगठनको निर्णय बमोजिम नै सहकारीको दोस्रो वार्षिक साधारण सभाबाट कोषाध्यक्ष पदमा बाहाल भएको हुँ । म सहकारीमा मनग्य लगानी गरेर कोषाध्यक्ष निर्वाचित भएको होइन् ।
सहकारीको स्थापनाकालमा सहकारीप्रति आम मजदुरहरुको आकर्षण थियो, पूरै ट्रेड यूनियन सहकारीमय बनेको थियो । मजदुरहरुले दैनिक लाखौं बचत गर्थे, सहकारीले ठूलो डिपार्टमेण्टल स्टोर्स सञ्चालन गरेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा स्वरोजागर कोषले गर्ने लगानी ऋण स्वरुप लिने र सो रकम परिचालन गरेर सहकारीले थप नाफा कमाउने उद्देश्य अनुरुप सहकारीले स्वरोजगार कोष मार्फत २०६८ मंसिरमा संझौता गरि २०७३ असोज ३० सम्ममा सावाँ व्याज भुक्तानी गर्ने गरी विभिन्नि मितिमा जम्मा रु. ५ करोड ऋण लिइएको थियो ।
सहकारीको सामान्य नियमानुसार पनि यति ठूलो रकम ऋण लिँदा तत्कालिन सञ्चालक समितिका कोषाध्यक्ष वा आर्थिक समितिमार्फत् गर्नु पर्नेमा त्यसो नगरी सहकारीका अध्यक्ष गणेश रेग्मीले युवा तथा साना व्यवसायी कोषसँग सम्झौता गरी ऋण ल्याएको र सो रकम आफ्नो मनोमानी ढङ्गले लगानी गर्न मलाई खाली चेकमा साईन गर्न समेत दबाब दिई बाध्य बनाइयो । मैले खाली चेकमा साइन गर्न नमानेपछि उहाँले आफूलाई असहयोग गरेको महशुस गरी मलाई सहकारीका कतिपय निर्णयहरुमा सहभागी नगराईकन सहकारीका कार्यकारी प्रमुख दिव्य रेग्मी र उहाँले एकलौटी रुपमा काम कारवाही गर्न थाल्नुभयो ।
अध्यक्षले ७० सालको शुरुबाटै मलाई कुनै पनि बैठकमा नबोलाई काम कारवाहीमा समेत सङ्लग्न नगराएका कारण म सहकारीको कोषाध्यक्षबाट फिर्ता हुने निर्णय हाम्रो संगठन अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समितिले ग¥यो । म सहकारीको २०७१ साल पौष १५ गते सम्पन्न पाँचौ साधारण सभाबाट सञ्चालक समिति पदमा नरहने गरी साधारण सभाले नयाँ सञ्चालक समिति निर्वाचन गरेको थियो ।
सहकारीको पाँचौ वार्षिक साधारण सभापछि सहकारीको विकास तीव्र रुपमा स्खलित भयो । सहकारीले डिपार्टमेण्टल स्टोर्सबाट उधारो लैजाने विभिन्न नेताहरुसँग उधारो रकम उठाउन सकेन, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको लगानीको उचित नियन्त्रण तथा अनुगमन नगर्नाले नै आज ट्रेड यूनियन महासंघ र सिङ्गो कम्युनिष्ट पार्टीकोे इज्जत तथा प्रतिष्ठा माथि नै धब्बा लागेको छ ।
अखिल नेपाल ट्रेड यूनियन महासंघको अचल सम्पत्ति बेचेर पनि स्वरोजगार कोषको ऋण रकम तिर्न सकिएको छैन् । सहकारीका अध्यक्ष स्वयम्ले आफू निकटका कार्यकर्ताहरुलाई सहकारीद्वारा सञ्चालित पसलको बाँकी उठाउन र स्वरोजगारको ऋण फिर्ता गराउन सक्नुभएन, उनीहरुसँग रकम फिर्ता माग्यो भने मलाई महासंघमा उनीहरुले साथ दिदैनन् भन्ने ठूलो भ्रम उहाँलाई थियो र छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बाँकी बक्यौता उठाउन ताकेता गरेपछि मजदुर शहीद स्मृति सहकारीका अध्यक्ष गणेश रेग्मीले हामी निवर्तमान सञ्चालक समितिका सदस्यहरुको नाम पूर्वाग्रहपूर्वक स्वरोजगार कोषमा कारवाहीका लागि सिफारिस गर्नुभएछ र स्वरोजगार कोषले पनि मसँग कुनै किसिमको छानबिन नगरी, म सम्बन्धित व्यक्तिसँग एक पटक सोधपुछ समेत नगरी मेरो नाममा रहेको चल–अचल सम्पत्ति रोक्का गर्नका साथै मेरो राहादानी समेत रोक्का गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत् परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको कुरामाथि उल्लेखित पत्रिकामा प्रकाशित समाचारमार्फत थाहा पाउँदा म मर्माहित भएँ ।
म कम्युनिष्ट पार्टीको इमान्दार सिपाही, कहिल्यै आफ्नो घर परिवार भनिन, नेतृत्वको आदेशमा आफ्नो ज्यान हत्केलामा राखेर जनयुद्धमा सहभागी भएँ, जीवनभर मानिसको न्यायपूर्वक बाच्न पाउनु पर्ने अधिकारको लागि लडिरहेँ । आज मेरो आफ्नै नेतृत्वले मलाई अन्यायपूर्वक अनागरिक बनाएको छ । सहकारीको तत्कालिन कोषाध्यक्ष भएकै नाताले मेरो चल अचल सम्पत्ति रोक्का गरिएको छ, मेरो राहादानी रोक्का गरिएको छ, मेरो गाउँ पालिकामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषले मेरो नामको कुनै पनि सिफारिस नलिन निर्देशन गरेको छ । म संगठनको निर्णयले सहकारीको कोषाध्यक्ष बनेको र संगठनकै निर्णयले सहकारीबाट आफ्नो हर हिसाब फछ्र्यौट गरी निस्केको व्यक्तिमाथि यो हदको कारवाही हुने तर सहकारीको संस्थापनकालदेखि हालसम्मका अध्यक्ष कसरी कोपनहेगन पुग्नुहुन्छ, उहाँको चल अचल सम्पत्ति रोक्का किन हुँदैन त्यो मलाई थाहा भएन ।
मैले सहकारीको कोषाध्यक्ष पदमा रहँदा एक रुपैयाँ हिनामिना गरेको छैन, विधिपूर्वक वार्षिक साधारण सभामा सहकारीको लेखा परीक्षण प्रतिवेदन पारित गरी मैले सहकारीको कोषाध्यक्ष पदबाट मुक्त भएको हुँ । सहकारी स्थापना कालदेखि हालसम्मका अध्यक्ष दोषी नहुने र म दुई वर्ष सञ्चालक समितिको कोषाध्यक्ष रहेर आफ्नो दायित्व पूरा गरी विधिपूर्वक सहकारीबाट बाहिरिएको व्यक्ति दोषी ठहर हुने ? यो कस्तो प्रकारको कानून हो ? यो कस्तो सामाजिक न्याय हो ? लाखौं मजदुरहरुले आफ्ना छोरा छोरीको गाँस काटेर स्थापना गरेको सहकारी, सहकारी मात्रै थिएन पार्टी र ट्रेड यूनियन महासंघप्रतिको विश्वास पनि थियो ।
आज मजदुर शहीद स्मृति उपभोक्ता सहकारीको माध्यमबाट त्यो विश्वास गुमेको छ । सहकारीको पसलबाट उधारो लैजाने बेच्ने र पैसा नतिरेर सहकारी धरासायी बनाउनेहरु पनि यही महासंघमा नेतृत्वको रुपमा विराजमान छन् ।
म युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई सहकारीको हरहिसाब छानबिन समेत नगरी, सहकारीको सञ्चालक समितिमा रहेकै कारण मेरो सूचनाको हकलाई समेत बञ्चित गर्दै मलाई बेनागरिक बनाउन तपाईंलाई कुन कानूनले बाटो देखायो ? स्वरोजगार कोषप्रति मेरो गम्भीर प्रश्न छ । स्वरोजगार कोषको आधिकारिक निकायबाट सहकारीको हरहिसाब छानबिन गरी यदि म दोषी ठहरिए जुनसकुै सजाय भोग्न पनि तयार छु । यसर्थ, म स्वरोजगार कोषले गरेको यस्तो कारवाही सिफारिसप्रति दुःख प्रकट गर्दै कोषलाई यस्तो गैरजिम्मेवारीपूर्ण कार्य गरी कसैको पनि सामाजिक जीवनमा खलल नपु¥याउन अनुरोध गर्दछु । साथै, स्वरोजगार कोषलाई आफूले लगानी गरेको रकमको छानबिन गरेर मात्रै दोषीलाई कारवाहीको लागि सिफारिस गर्न अनुरोध गर्दछु ।
म उक्त समाचारमा उल्लेखित गरिए जस्तो मजदुर शहीद स्मृति उपभोक्ता सहकारीको सञ्चालक समितिबाट २०७१ पौषमा सम्पन्न साधारण सभाबाट पदमुक्त भएको जानकारी गराउँदै मजदुर शहीद स्मृति उपभोक्ता सहकारीको हरहिसाब छानबिन गरी दोषी माथि हदैसम्मको कारवाही गर्न र मेरो रोक्का गरिएको चल अचल सम्पत्ति र राहादानी तुरुन्त फुकुवा गरी न्याय प्रदान गर्न जोडदार माग गर्दछु ।
तामाङ, अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सचिव हुन् ।