देउवाले गरे, प्रधानमन्त्री पदको शपथ अस्वीकार

२९ असार ०७८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा उल्लेख नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गरेको भन्दै प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।

स्रोतकाअनुसार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका छन् ।

राष्ट्रपति कार्यालयबाट मंगलबार अपरान्ह जारी विज्ञप्तिमा देउवालाई संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरिएको थियो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।”