२८ पुस ०८१, काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएपछि सो पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै नक्कली विज्ञप्तिबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
नेपाली काँग्रेसले त्यस्ता गैरकानुनी कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग समेत गरेको छ । उसले हतास मनस्थितिबाट गरिएका घृणित कार्य, भ्रमित गतिविधिबाट प्रभावित नहुन पनि अनुरोध गरेको छ ।