थोरै पनि नैतिकता भए प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ – पम्फा भुसाल

१२ फागुन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् ।

केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमलाई मंगलबार सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर संसद पुनर्स्थापना गरेसँगै बुधबार राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताएकी हुन् ।

“प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो,” उनले थोरै पनि नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

“मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन,” उनले भनिन्, “अझै पनि नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ ।”

संघीय संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने समेत उनले चेतावनी दिइन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी आज पशुपति पुगेको प्रसंगलाई कोट्याउँदै नेतृ भुसालले भनिन्, “पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस् ।”