तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्वाचन आयोगकाे निर्देशन

१२ असार ०७४, काठमाडौं । निर्वाचन आयोगले पहिलाे चरणकाे स्थानीय तहकाे निर्वाचन भएका जिल्लाहरुमा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन दिएको छ ।

साथै, जिल्लासभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउन स्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

जिल्ला सभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्लासभाको बैठक बस्न सकेको थिएन । यसले जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन सकेको छैन ।

संविधानको धारा २२० को उपधारा ३ मा जिल्लासभाले बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था छ ।

यसका लागि जिल्लासभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नु पर्नेछ । साथै गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिनभित्र जिल्ला सभाको बैठक बस्ने व्यवस्था रहेको छ ।

तपाइको मत