१९ कार्तिक ०७९, कोहलपुर । पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई कोहलपुर नगरपालिका वडा नं. १० का मतदाताले डुडुवा तटबन्ध योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेश्वरजंग गहतराज (अथक) र प्रदेशसभा सदस्य पदका उम्मेदवार फुलाराम थारुसहित वाम लोकतान्त्रिक गठबन्धन दलहरूको घरदैलो कार्यक्रममा ‘डुडुवा समस्या समाधानका लागि तटबन्धन, मुलुकको समृद्धिका लागि वाम-लोकतान्त्रिक गठबन्धन’ अपरिहार्य रहेको भन्दै मतदाताहरू उत्साही देखिएका छन् ।
घरदैलोका क्रममा विद्युत् रोड, कालिकानगर र एकतानगर क्षेत्रका मतदाताहरूले विकास र समृद्धिको अभियानलाई पूर्णता दिन सकेको खण्डमा राजनीतिक नेतृत्व सफल हुने बताए ।
वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले विकास र समृद्धिको एजेण्डा नै अहिलेको गठबन्धनको औचित्य भएकाले क्षेत्रगत विकासको सन्दर्भमा सदैव संवेदनशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मतदातामा देखिएको उत्साहले गठबन्धनका उम्मेदवारहरूले नै काम गर्ने जिम्मेवारी पाउनेमा कुनै शंका नरहेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार अथकको भनाइ छ ।
‘मतदाताको घरदैलोमा पुग्दै गर्दा आत्मियता र सदासायता प्रकट गर्ने मतदाताहरुको मनोभावविपरीत हामी कहीँ कतै विचलित हुने छैनौँ,’ अथकले भने, ‘डुडुवा खोलाले बर्सेनि पुर्याउँदै आएको कटान र डुवानको समस्या समाधानका लागि तटबन्धनको योजनालाई पूर्णता दिन प्रतिबद्ध छौँ ।’
यस्तै प्रदेशसभा सदस्य सदस्य पदका उम्मेदवार फुलाराम थारुले वडा नं. १० का मतदाताहरूको साथ र समर्थनले थप ऊर्जा मिलेको प्रतिक्रिया दिए । हिजो मुलुकमा चर्किरहेको १० वर्षे द्वन्द्व व्यवस्थापनमा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र विद्रोही पक्ष तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निभाएको भूमिकालाई विश्व राजनीतिमा महत्त्वका साथ हेरिएको बताउँदै थारूले गिरिजा र प्रचण्डले नेपाली राजनीतिमा नयाँ चरणको विकास र समृद्धिको मार्ग देखाएअनुरुप आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उल्लेख गरे ।
उनले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनपछि राजनीतिक विकासक्रममा नयाँ आयाम थपिनेमा मतदाता विश्वस्त देखिएकाले जनताका सबै खाले समस्या समाधानका लागि गठबन्धनको आवश्यकता रहेको दाबी गरे ।
घरदैलो कार्यक्रममा माओवादी केन्द्रकी स्थाई समिति सदस्य पूर्ण कुमारी सुवेदी, नेपाली कांग्रेसका नेता बलराम शर्मा, कृष्ण कार्की, टेक नारायण भुषाल, निरज चलाउनेलगायतका अगुवा नेता-कार्यकर्ताको सहभागिता रहेको थियो ।
बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभामा महेश्वर जंग गहतराज (अथक) गोलाकार भित्रको हसिया हथौडा, प्रदेश सभा १ (क) मा कृष्णा केसी (नमुना) गोलाकार भित्रको हँसिया हथौडा र १ (ख) मा फुलाराम थारु रुख चुनाव चिह्न लिएर चुनावी मैदानमा छन् ।