डीआईजी सिलवाल राजीनामा स्वीकृत नहुँदै एमालेमा प्रवेश : ओलीले गरे स्वागत

२० असोज ०७४, काठमाडौं । नेपाल प्रहरीको डीआईजी नवराज सिलवाल पदबाट दिएको राजीनामा स्वीकृत नहुँदै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सर्वोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल शुक्रबार एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर सिलवाल पार्टी प्रवेश गरेका हुन् ।

आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा हारेपछि सिलवालले डीआईजीबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन ।

बिहीबार विहान कोजाग्रत पूर्णिमाको अवसर पारेर सिलवाल अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । उनले त्यहाँ ओलीको हातबाट बिजयादशमीको टीका ग्रहण गरेका थिए ।

अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताउँदै आएका डीआईजी सिलवाल अन्ततः राजीनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरेर थप चर्चामा आएका छन् ।

तपाइको मत