जोशीको उम्मेदवारी निर्वाचन ऐन अनुसार खारेज गर्न पौडेलको उजुरी

१८ कार्तिक ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्यका लागि तनुहँ १ बाट उम्मेदवारी दर्ता गराएका गोविन्दराज जोशीविरुद्ध उजुरी दिएका छन् ।

कांग्रेस नेता पौडेलले तनहुँ १ को निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार जोशीविरुद्ध उजुरी दिएका हुन् । जोशी विशेष अदालतबाट दोषी ठहर भएको भन्दै पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार उम्मेदवारी खारेजको माग गरेका छन् ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले जोशीलाई १० साउन २०६९ मा दोषी ठहर गरेको थियो । तर, त्यसविरुद्ध जोशीले दिएको पुनरावेदन सर्वोच्चमा विचाराधीन छ ।

पूर्वगृहमन्त्री समेत रहेका जोशीले कांग्रेसबाट तनहुँ १ को टिकट दाबी गरेका थिए । तर, कांग्रेसले पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दिएका छन् ।

नेता पौडेलले आफूविरुद्ध बागी उम्मेदवारी दिने जोशीलाई पार्टीले कारवाही गर्ने भन्दै जोशीको उम्मेदवारीलाई ‘कुण्ठा’को’ संज्ञा दिएका छन् ।

‘पार्टीमा यस्ता सानातिना घटना घटिरहन्छन्, सबैको चित्त बुझाउन सकिँदैन,’ कांग्रेस नेता पौडेलले भने, ‘उहाँको के कुण्ठा हो, त्यो मलाई थाहा छैन । मैले त्यसलाई ठूलो रुपमा लिएको छैन । खासै महत्व दिएको छैन ।’

तपाइको मत