जुन-तारा रहेसम्म सरकारमा बसिरहने आकांक्षा लिएको माओवादी केन्द्र भेडागोठमा परिणत – हस्तबहादुर केसी

३१ जेठ, काठमाडौं ।

Hasta Bdr

हेर्दा हेर्दै नेकपा ( माओवादी केन्द्र ) भेडागोठमा परिणत हुन पुगेको छ । धेरै दिन भएको छैन एमाओवादी माओवादी केन्द्रमा परिणत भएको । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीभित्र पैदा भएको चरम असरवादी ‘बादल गुट’ र अन्य लोपोउन्मुख रहेका माओवादी टुकडीहरु र बजारमा फ्याकिन पुगेका केही माओवादीका ब्यक्तिहरुलाई सोरसार पारेर प्रचण्डहरुले माओवादी नाम दिइएको एउटा भर्ती केन्द्र खोलेका थिए । पहिले ५०० जना मात्र भर्ती गरिने भनिएको त्यस केन्द्रमा वीचमा ५९९ र फेरी ६९९ भर्ती गरिने समाचार प्रकाशमा आएको थियो तर अहिले १०९९ जना भर्ती गरेको पुष्टि भएको छ ।

नेपालमा महान नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कायभार माओवादीहरुले पुरा गरेका छैनन् । यो कार्यभार माओवादीहरुले पुरा गर्नै पर्ने छ । तर माओवादी आन्दोलन विभाजित भएकै कारण जनतामा निरासा पैदा हुनु स्वाभाविक थियो । माओवादी आन्दोलनभित्रका सबै कार्यकर्ताहरु र नेपाली जनताको चाहना सब माओवादीहरु एक जुट हुनु पर्छ भन्ने रहेको थियो, यो कुरा ज्यादै उत्तम थियो । यही महत्वलाई आत्मसात गर्दै तत्कालिन ड्यास माओवादी हुदै क्रान्तिकारी माओवादीले सबै माओवादीहरुलाई एकीकृत गर्न आह्वान गर्दै आएको थियो । तर एमाओवादी क्रान्तिकारी माओवादीले एकताका लागी अगाडी सार्दै आएका ७ आधारहरु स्वीकार गर्न तयार नभएपछि एमाओवादीसित एकता हुन सकिरहेको थिएन । तर ‘बादल गुट’ विनासर्त आत्मसमर्पणवादी एवम् नबसंशोधनवादी पुच्छरवादमा पतन हुन पुगेर हामफाल्दै एमाओवादीमा प्रवेश गर्न पुगेपछि यो माओवादी केन्द्र नाम दिइएको भेडागोठ बन्न पुग्यो । यो कम्युनिस्ट पार्टीका नाम १०९९ सदस्य रहेको भेडागोठ बनेको विश्व कम्युनिस्ट आन्दोलनमै पहिलो हो ।

क्रान्तिका लागी क्रान्तिकारी सिध्दान्त चाहिन्छ र क्रान्तिकारी पार्टी चाहिन्छ । क्रान्तिका लागी ठूलो पार्टी हुनु र सानो पार्टी हुनुले फरक पार्दैन, मुख्य कुरा क्रान्तिकारी सिद्धान्तले लैस भएको क्रान्तिकारी पार्टी छ कि छैन ? त्यो पार्टी फलामे अनुशासनले लैस भएको पार्टी छ कि छैन ? त्यो पार्टीका कार्यकर्ताहरु क्रान्तिकारी र लडाकू छन कि छैनन् ? त्यस पार्टीको नेतृत्व क्रान्ति सम्पन्न गर्ने आँट, जोस र जाँगर भएको छ कि छैन ? भन्ने कुराले निर्धारण गर्दछ ।

कम्युनिस्ट पार्टी निर्माण गर्नका लागी, क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नका लागी लेनिनवादी सगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको सिध्दान्त छ , त्यसको मापदन्डभित्र रहेर कम्युनिस्ट पार्टी निर्माण गरिन्छ । यसका लागी अन्तराष्टंरीय मान्यता र परम्परा पनि छ ।

कम्युनिस्ट पार्टी पिरामिड जस्तो गरी माथि सानो आकारको र तल ठूलो आकारको बनाइन्छ । कम्युनिस्ट पार्टी छाता आकारको जस्तो गरी निर्माण गरिदैन । तर एमाओवादी हुदै माओवादी केन्द्रसम्म निर्माणमा पुग्दा प्रचण्डजीहरुले यी सवै मापतण्डहरुको उलंघन गर्दै संसारमै नभएको जम्बो पार्टी बनाएर हामी त यति ठुलो पार्टी भएका कम्युनिस्ट हौं भन्ने देखाउने र घमण्ड गर्ने मनोबिज्ञानको आधारमा यस प्रकारको जम्बो आकारको पार्टी बनाएको सोझै अनुमान गर्न सकिन्छ । यो कुरा जानी राख्न आवश्क छ कि प्रचण्डजीहरुले क्रान्ति गर्नका लागी नभएर आगामी दिनहरुमा गरिने चुनावहरुमा बहुमत ल्याएर सबै तहमा सरकारमा पुग्नका यो बाटो अगालेका हुन् ।

क्रान्तिकारी आन्दोलनलाई बलियो बनाउने उद्धेश्यले नभई सडेगलेको संसदीय ब्यवस्थालाई बलियो बनाउदै लैजाने र जुन- तारा रहेसम्म सरकारमा बसिरहने मनोगतवादी आकांक्षाका साथ यो भेडागोठ निर्माण गरिएको बुझिन्छ ।

तपाइको मत