जनकपुर उपमहानगरपालिकाका मेयर साहको कारबाही फिर्ता

३० जेठ ०८०, काठमाडौं । नेपाली कांग्रेसले गरेको जनकपुर उपमहानगरपालिकामा मेयर निर्वाचित मनोजकुमार साहको कारबाही फिर्ता लिएको छ ।

काँग्रेससहितको सत्ता गठबन्धनले उक्त जनकपुर उपमहानगरपालिकामा जनता समाजवादी पार्टीका लालकिशोर साहलाई समर्थन गर्ने निर्णय गरेपछि साहले बागी उम्मेदवारी दिई निर्वाचित थिए ।

पार्टीको निर्देशन विपरीत मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

हालै मात्र मेयर साहले हिजोका दिनमा गरेको गतिविधिमा आत्मलोचना गर्दै पार्टीको सिद्धान्त र नीतिमा रहेर कामकारबाही गर्न निवेदन दिएको भन्दै कांग्रेस अनुशासन समितिका संयोजक आनन्दकुमार ढुंगानाले धनुषा जिल्ला सभापतिलाई पत्र पठाई मनोजकुमार साहमाथिको कारबाही फुकुवा भएको र उनलाई साविककै जिम्मेवारीमा फर्काइएको बताए ।