चार्ल्स शाेभराजको मुटुका दुबै भल्भ फेरिए

काठमाडौं । चाैध वर्षदेखि हत्याको अभियोगमा केन्द्रीय कारागार काठमाडौँमा रहेका चार्ल्स शाेभराजको मुटुका दुवै भल्भ फेरिएको छ ।

एक साता अघिदेखि गंगालालमा भर्ना गरिएका बिकिनी किलरका नामले कुख्यात ७२ वर्षीय शाेभराजकाे सोमबार गंगालाल हृदय केन्द्रमा चार घण्टा लामो शल्यक्रिया गरिएकाे हाे ।

चार्ल्सको शल्यक्रिया डा. रामेश कोइरालाको नेतृत्वमा भएको सोभराजकी श्रीमती निहिता विश्वासले जानकारी दिइन् ।

निहिताका अनुसार चार्ल्सलाई तीन महिनादेखि नै मुटुमा समस्या देखिन सुरु भएको थियो ।

सुरुमा सास फेर्न गाह्रो हुने, खुट्टा अत्यधिक सुन्निने समस्या भएपछि वीर अस्पतालमा चेकजाँच गराउँदा मुटुको भल्भमा समस्या भएको पत्ता लागेको थियो ।

त्यसपछि थप उपचारका लागि उनलाई गंगालालमा लगिएको निहिताले बताइन् । सुरुमा एउटा मात्र भल्भ फेर्ने भनिए पनि पछि दुवै भल्भ फेर्नुपर्ने अवस्था आएको विश्वासले जनाइन् ।

अस्पताल स्रोतका अनुसार मुटुको एउटा भल्भ फेर्न दुई लाख ५० हजार रुपैयाँ लाग्छ भने दुई वटा भल्भ फेर्दा तीन लाख २५ हजार लाग्छ ।

निहिताले सोभराजको सबै उपचार खर्च सरकारले ब्यहोर्ने बताइन् ।

युवती हत्याको आरोपमा दोषी ठहर भएका चार्ल्सलाई राजधानीको एक क्यासिनोबाट १४ वर्षअघि पक्राऊ गरी जेल चलान गरिएको थियो । चार्ल्सविरुद्ध उनकै देश फ्रान्स, थाइल्यान्ड, भारत लगायत देशमा मुद्दा दायर छन् ।

तपाइको मत