गुटबन्दी र गणितीय चलखेललाई भत्काउँदै नेकपाको स्थायी कमिटी बैठक सम्पन्न

२६ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गर्दै पार्टी स्थायी कमिटीको बैठक उत्साहका साथ सम्पन्न भएको हो ।

पार्टीभित्र विभिन्न रूपमा देखा परेका दाउपेच र विवादका बीच ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमाथि अध्यक्षद्वयले सहमतिमा कार्ययोजना प्रस्ताव बनाएसँगै सोको कार्यान्वयनमा जाने गरी स्थायी समिति बैठक सम्पन्न भएको छ ।

असार १० गते शुरूभएको स्थायी समिति बैठक अनेक मोड र घुम्ती पार गरेर अध्यक्षद्वयको सल्लाह, सहमति र निष्कर्षअनुरूप एकता, समझदारी र सर्वसम्मति कायम नयाँ सहमतिबाट अघि बढेको छ ।

तत्कालीन माओवादी र एमाले पार्टी एकताको मुख्य पहलकर्ता साथै निर्णयकर्ता अध्यक्षद्वयको नयाँ समझदारीले गुटबन्दी र गणितीय चलखेललाई भत्काइदिएको छ ।

आजको बैठकमा रघुजी पन्त, लिलामणि पोखरेल, भीम आचार्य, माधव कुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, देव गुरुङ, घनश्याम भुषाल, मातृका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले आ–आफ्नो धारणा राखेका थिए ।