गाविस र नगरपालिकालाई नै गाउँपालिका र नगरपालिका घोषणा गर्न कांग्रेसको सांसद माग

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संक्रमणकालीन व्यवस्था अनुसार हालको गाविस र नगरपालिकालाई नै गाउँपालिका र नगरपालिका घोषणा गरी स्थानीय चुनाव गर्न माग गरेका छन् ।

कांग्रेसका २७ सांसदहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सांसदहरुलाई केन्द्रमा बोलाएर सुझाव लिएकोमा आपत्ति जनाएका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगले सम्बन्धित जिल्लाहरुमा सुझाव दिनु पर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी काठमाडौंको होटलमा होइन जिल्ला जान तयार छौं । जिल्लामा नै गई समुदायका बिचमा एवं राजनीतिक दलहरुसँग सुझाव लिन स्थानीय तह पुनर्संरचना आयोगसँग हाम्रो आग्रह छ ।’

मधेस केन्द्रित दलहरुले अवरोध गरेको भन्दै आयोगले बुधबार र बिहीबार प्रदेश नम्बर २ का सांसदहरुलाई बोलाएर काठमाडौंमा छलफल गरेको थियो । र, चार दिनभित्र स्थानीय तहको पुनर्संरचना गरेर प्रतिवेदन बुझाउन प्राविधिक समितिलाई भनेको छ ।

तपाइको मत