गण्डक नहर भत्काइदिने स्थानीयको चेतावनीपछि, भारत तीन दिनभित्र समस्या हल गर्न सहमत

१ भदौ ०७४, नवलपरासी । डुबानमा परेको गाउँको पानी निकास नभए स्थानीयहरुले गण्डक नहर भत्काई दिने चेतावनी दिएका छन् ।

नवलपरासी सुस्ता गाउँपालिका– २ का स्थानीयहरुले नहर भत्काउने चेतावनी दिएपछि भारतीय पक्ष तीन दिनभित्र समस्या समाधान गर्न सहमत भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए ।

बिहीबार भारत बिहार प्रदेश बाल्मिकी नगर सिंचाई विभाग, नवलपरासीस्थित सिंचाई डिभिजन कार्यालय सेमरीका इन्जिनियर, स्थानीयवासीसहित सुरक्षाकर्मीहरुको उपस्थितिमा बैठक बसेपछि भारतीय पक्ष तीन दिनभित्र समस्या समाधान गर्न सहमत भएको हो ।

स्थानीय राईपुरा खोलाका कारण सुस्ता गाउँपालिकाका रुपौलिया, छिवनी र सत्पत्ती गाउँका साथै सयौं बिगाहामा लगाइएको बालीनाली डुबानमा परेको भन्दै तत्काल पानी निकास गर्न माग गर्दै स्थानीयहरु आक्रोशित भएका थिए ।

स्थानीयहरुले भारततर्फ लगिएको गण्डक पश्चिमी नहरमा पानी निकास गर्न माग गरेका छन् । पानीको निकास गण्डक नहर मात्र रहेको छ । निकासका लागि पहल नभए आफूहरुले गण्डक नहर भत्काएर भएपनि गाउँको पानी बाहिर निकाल्ने चेतावनी उनीहरुले दिएका छन् ।

भारतीय पक्षले डुबानका कारण भएको क्षतिपूर्ति उपलव्ध गराउने, नहर सफा गर्ने र नहरको पानीलाई अण्डरग्राउण्ड गरेर लैजाने सहमति भएको प्रजिअ रानामगरले बताए । साथै, उनले दीर्घकालिन समस्या समाधानका लागि त्यसबारे नेपाल सरकारलाई जानकारी दिइने बताए ।

तपाइको मत