२६ बैशाख ०७८, कास्की । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पदबाट राजीनामा दिएपछि अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् ।
अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिँदै प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।
“गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङले मिति २०७८।०१।२६ मा नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम माननीय प्रदेश प्रमुख श्री सीता कुमारी पौडेल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले हालसम्म वहाँको नेतृत्वमा रहेको मन्त्रिपरिषदले गरेका कामका लागि धन्यवाद,” गण्डकी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषदले कार्य संचालन गर्ने र नेपालको संबिधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिन भित्र सरकार गठन गर्न आव्हान गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।”
गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा भोलि सोमबार मतदान हुँदैछ ।