१६ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका नेताहरुलाई वेवास्ता गरी सरकारमा नजाने निर्णय गरेपछि असन्तुष्ट पक्षका सांसदले आइतबारसम्म नयाँ पार्टी गठनको तयारीमा लागेका छन् ।
स्रोतकाअनुसार असन्तुष्ट पक्षका सांसदले आइतबारसम्म नयाँ पार्टी गठनको तयारी गर्न गोप्य छलफल गरिरहेका छन् । असन्तुष्ट नेताहरु पार्टी फुटाएर भएपनि सरकारमा जानुपर्ने निष्कर्षमा पुगेका छन् ।
स्रोत भन्छ, ‘संसदीय दलका बहुमत सदस्यको सहमति जुटिसकेकाले नयाँ पार्टी गठन गर्न केन्द्रीय समितका प्रमुख नेताहरुसँग छलफल हुँदैछ ।’
यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मधेस आन्दोलनलाई बेवास्ता गर्दै पार्टीको संस्थागत निर्णय बिना नै पार्टी सरकारमा सहभागी भएपछि गच्छदारको पार्टीमा खैलाबैला नै मच्चिएको थियो ।