कोरोना संक्रमित १४ हजार ५१९ पुग्यो, डिस्चार्ज ५ हजार ३२० जना

१८ असार ०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बिहीबार थप ७ सय ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै योसँगै कूल संक्रमित संख्या १४ हजार ५ सय १९ पुगेको बताएको हो ।

पछिल्लो अद्यावधिक विवरणअनुसार ५ हजार ३ सय २० जना निको भएका छन् भने आइसोलेसनमा ९ हजार १ सय ६८ जना रहेका छन् ।

यस्तै मन्त्रालयले असार १७ गते साँझ ४ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा एक कोराना संक्रमित शिशुको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जागेशवर गौतमले असार ९ गते त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका लामो समयदेखि बिरामी म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नं. ४ स्थायी ४९ दिनको एक शिशुको उपचारै क्रममा मृत्यु भएको बताएका हुन् ।