कोरोनाविरुद्धको लडाईं मानवजातिकै एकताको बलमा मात्रै जित्न सकिने प्रचण्डको भनाई

२७ चैत ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाविरुद्धको लडाईं एकताको बलमा मात्रै जित्न सकिने बताएका छन् ।

अध्यक्ष प्रचण्डले बिहीबार इमेज टेलिभिजनलाई दिएको अन्तर्वातामा यतिबेला एकले अर्कालाई गुनासो गर्ने, तल पार्ने भन्दा पनि कोरोनाविरुद्धको लडाईं मिलेर जित्नु पर्ने बताएका हुन् ।

“आम नेपाली जनतालाई केही समय पीडा भए पनि यो पीडालाई हामीले सामना गर्नै पर्छ, सहनुको बिकल्प यतिबेला छैन्,” अध्यक्ष प्रचण्डले भने, “म जनतालाई विशेषरुपले फेरि पनि एकचोटी अपिल गर्न चाहन्छु; यो पनि एउटा लडाईं नै हो । यो लडाईं हामीले जित्नै पर्छ । यो लडाईं हामीले एकताको बलमै जित्ने हो ।”

आम जनतालाई कोरोरा भाइरस विरुद्धको लडाईं, विश्वव्यापी लडाईं मानवजातिकै इतिहासको एउटा विकराल समस्याको रुपमा देखा परेको भन्दै उनले यसलाई मानवजातिकै एकताको बलमा र हामी नेपालीहरुले पनि हाम्रो एकताको बलमा जित्नु पर्ने भएकाले लकडाउनको समस्यालाई त्यही रुपमा बुझ्न अपिल समेत गरेका छन् ।

कोरोनाले संसारमा को धनी, को गरीब, को कुन जाति, को कुन धर्म, को कुन सम्प्रदाय ? कसैको भेद नगरेको भन्दै कोरोनाविरुद्ध मानवजाति नै एक हुनुपर्ने उनले बताए ।

“जता कतै उस (कोभिड–१९) ले आक्रमण गरेको छ भने यो संक्रमणका विरुद्धको लडाईंमा पनि मानवजाति नै एक हुनुपर्ने भयो,” अध्यक्ष प्रचण्डले भने, “कुनै धर्म, कुनै सम्प्रदाय, कुनै धनीमानी, या गरिब या कुनै पदमा भएको या नभएको भन्ने केही छुट्याएको छैन् कोरोनाले ।”

“हिजो युद्धमा, शान्तिमा, संविधान निर्माणको प्रक्रियामा एकताको प्रदर्शन ग-यौं, सारा संसारलाई नै हामी नेपालीहरुले गएको दुई दशकमा निकै नयाँ नयाँ शिक्षाहरु हामीले दिएका छौं । र, पछिल्लो संविधानसभा, संविधान निर्माण, सरकार निर्माणसम्म आउँदा हामीले लोकतन्कको क्षेत्रमा नयाँ मोडलहरु प्रस्तुत गरेका छौं,” उनले भने, “त्यसैले यो पटक पनि हामीले यो (कोरोनाविरुद्ध) लडाईं एकताकै बलमा जित्नु छ । म यही अपिल नेपाली जनतासँग गर्न चाहन्छु ।”

अध्यक्ष प्रचण्डका अनुसार पूँजीवादले विकास गरेको संंरचना, उसको जीवनशैली, उसको खानपिन, उसको संस्कृतिले पनि समस्या ल्याएको थियो । अब, मानवजातिलाई सोच्नका लागि नयाँ आधार पनि दिएको छ ।