केशरी पुन/ काठमाडौं ।
विश्वलाई त्राहीत्राही बनाएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारका सवालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवी मजदुरहरू मूलतः महिला श्रमिकहरुसँग यस पंक्तिकारले भलाकुसारी गर्दा उनीहरुले हिंसाको भिन्न–भिन्न रुप रहेको बताएका छन् । नेपाली श्रम क्षेत्रमा क्रियाशील श्रमिकहरूले सामाजिक वहिष्करण तथा आर्थिक समस्याकै कारण महिला हिंसा र दुर्व्यवहारका अधिकांश घटनाहरू कार्यस्थलको ढोकाबाटै बाहिर नआउने र पीडकले उन्मुक्ति पाउने गरेको सुनाएका छन् । साथै, उनीहरुले कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार न्यूनीकरणका लागि केही महत्वपूर्ण विषयहरू पनि उठाएका छन् ।
नेपाली श्रम क्षेत्रमा कार्यरत महिला श्रमिकहरूले भोगेका मूलतः यौन हिंसाका समस्यालाई विमर्शको विषय बनाउन र न्यायिक निरुपणका लागि सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउँदै स्वयं श्रमिकहरुलाई ‘अन्याय सहनु पनि आफैँमाथि हिंसा गर्नु हो’ भन्ने शिक्षा दिने प्रयोजनले यस आलेखमा हिंसा तथा दुर्व्यवहारसँग परिचित श्रम क्षेत्रमा क्रियाशील श्रमिकहरूको अनुभवजन्य टिप्पणीहरूलाई मुख्य सवाल बनाइएको छ ।
विगत १९ वर्षदेखि सार्वजनिक सवारी सफा टेम्पु चालकका रुपमा कार्यरत स्वरोजगार कुमारी तामाङले यातायात क्षेत्रमा कार्यरत नगन्य महिलाहरुमाथि पनि हिंसा र दुर्व्यवहार हुने गरेको बताइन् ।
अखिल नेपाल यातायात मजदुर संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी टेम्पु चालक कुमारी तामाङले सबैभन्दा बढी महिला चालक टेम्पु क्षेत्रमा रहेको बताउँदै यस क्षेत्रमा हुने हिंसा रोक्न सरोकारवाला निकायले नै त्यति ध्यान नदिएको सुनाइन् ।
उनले भनिन्, “आफूमाथि हिंसा भएको थाहा हुँदाहुँदै पनि यस क्षेत्रमा काम गर्ने महिला चालकहरुले रिर्पोट गरेर के हुन्छ र ? भन्छन् । साथै, रिर्पोट गर्दा उल्टो आफ्नै बेइज्जत र झन्झट मात्रै हुन्छ भनेर पनि महिला चालकहरुले आफैँमाथि दैनिक हुने कैयन अश्लिल शाब्दिक र चालकसिट नजिकैको सिटमा बस्ने केही पुरुष यात्रुले नियतवश गर्ने हातको कुहिनाको दुर्व्यवहारप्रति कहीँ रिर्पोट गर्दैनन् ।”
चालक तामाङले महिला चालक हुँदाको पीडा यसरी सुनाइन्, “कहिलेकाँही हिंसाको रिर्पोट लिएर प्रहरी कार्यालयमा रिर्पोट गर्न जाँदा प्रहरीबाटै ड्राइभरहरु यस्तै हुन्छन् भनेर मिल्नुस् भनेर कारवाहीको सट्टा उल्टो सम्झाएर पठाउँछन् ।”
यद्यपि, तामाङले आफू महिला टेम्पु चालक हुनुमा गर्व गर्दै यसो भनिन्, “मैले टेम्पु चलाएको १९ वर्ष भइसक्यो । तर, आजसम्म जरिवाना तिरेको छैन किनभने मैले म आवद्ध संगठन अखिल नेपाल यातायात मजदुर संघले मलाई सिकाएको रुललाई अवलम्बन गर्ने गरेको छु । चढाउने र ओराल्ने ठाउँमा बाहेक अन्यत्र कहिल्यै गाडी रोक्दिन । सिट पूरा भएपछि झुण्ड्याएर यात्रु चढाउँदिन् बरु नमस्कार गर्दछु, आफ्नै कान समातेर माफी माग्छु । गाडीको सिट क्षमताभन्दा बढी यात्रु कहिल्यै चढाउँदिन ।”
यस्तै सरसफाई क्षेत्रमा कार्यरत धनु दाहालले यस क्षेत्रका श्रमिकमाथि हुने हिंसालाई ‘रोजगारदाताको कुरा नमान्दा जागिर जाने, मान्दा अस्मिता लुटिने स्थिति’ रहेको बताइन् ।
अखिल नेपाल सरसफाई मजदुर संघका केन्द्रीय अध्यक्ष समेत रहेकी दाहालले भनिन्, “रोजगारदाताले कार्यस्थलमा कार्यरत महिला श्रमिकलाई घुम्न जाउँ भनेर राखेको प्रस्तावलाई ती श्रमिकले इन्कार गरेको अवस्थामा उनको जागिर नै जाने अवस्था छ भने घुम्न जाँदा अस्मिता लुटिने स्थिति छ ।”
दाहालले पारिवारिक सम्बन्धलाई समेत जोड्दै भनिन्, “बिबाहित महिलाको घरमा श्रीमान हुन्छ । ती महिलाले रोजगारदाताको कुरा श्रीमानलाई जस्ताको तस्तै भन्ने हो उल्टो पारिवारिक सम्बन्धनै बिग्रने डरले हिंसाका घटनाहरु बिरलै बाहिर आउने गर्दछ ।”
“कतिपय रोजगारदाताले पारिश्रमिक बढाइदिने वा पदोन्नति गरिदिने भनेर कैयन महिला श्रमिकहरुलाई उसको आर्थिक कमजोरीको फाइदा उठाउँदै आर्थिक प्रलोभनमा पारेर यौन हिंसा गरेको समेत देखिन्छ,” उनले थपिन्, “रोजगारदाताको इच्छा विपरीत जाँदा चुल्हो निभ्ने डरले पनि कार्यस्थलमा हुने महिला हिंसा बाहिर शुन्य प्रायः देखिए पनि भित्रभित्रै त्यो डरलाग्दोरुपमा रहेको देखिन्छ ।”
आर्थिक अवस्था कमजोर भएकाले नै महिलाहरुले सामान्यभन्दा सामन्य तहको जागिर खाने गरेको बताउँदै अध्यक्ष दाहालले जागिरमा लागेपछि रोजगारदाताले भनेको नमान्दा जागिर जाने, मान्दाखेरि आफ्नो अस्तित्व लुटिने समस्याको शिकार हुने गरेको बताइन् ।
यस्तै मातृका पौडेलले आफू कजेज पढ्दाको अनुभव साट्दै ‘महिला हिंसा’ भयो कि ‘पुरुष’ भन्ने खुट्याउन नसकेको यसरी सुनाए, “म आरआर कलेजमा बिए प्रथम वर्षमा अध्ययन गर्दैगर्दा एकदिन मिलिटरी पृष्ठभूमि रहेको एकजना युवतीले भलिबल खेल्नेक्रममा भनाभन हुँदा म तलाईं रेफ गर्छु भन्नुभयो ।” मैले चिप सरलाई भनेँ, “सरले हामी दुबैजनालाई बोलाएर कुरा गर्नुभयो र उहाँको बुबालाई पनि बोलाउनु भयो । मेरो बाबा त बितिसक्नुभएको थियो । त्यसपछि उहाँको त्यस कलेजमा पढ्ने वातावरण नै भएन । यो मैले न्याय पाएको होकि हिंसा भयो ? यो मेरो अनुभव हो ।”
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघको उपाध्यक्ष उषा देवकोटाले एक युवतीको इनारमा डुबेर मृत्यु भइसकेपछि मात्रै बलात्कारको घटना बाहिर आएको बताइन् । देवकोटाले भनिन्, “एकजना अंकल पर्नेले आफ्नै छोरी नाता पर्नेलाई बलात्कार गरेछ । युवतीले घटना आफ्नी आमालाई भनिछन् । तर, आमाले आफ्नै बेइज्जत हुन्छ, भोलि बिहे गर्नु पर्दैन ? चुपचाप बस्न भनेछ । छोरीलाई यस्तो कुरा बाहिर गर्नु हुँदैन, कसैलाई भन्नु हुँदैन भनेपछि बलात्कारित छोरीले उजुरी गर्ने र समाजलाई भन्ने कुरै आएन । बिडम्बना भन्नुपर्दछ, ती युवती डिप्रेशनमा गएर इनारमा डुबेर मृत्यु भएछ । ती युवतीको निधनपछि आमाले कुरा खोलेपछि मात्रै हामीलाई थाहा भयो ।”
ती युवतीको अंकल पर्ने आज पनि खुलेआम हिँडिरहेको भन्दै देवकोटाले भनिन्, “आज बिनाप्रमाण केही गर्ने कुरै भएन् । यति गम्भीर घटना त बाहिर आउँदैन् भने तपाईं/हामी (महिला)लाई कुनै पुरुषले कसैले छोएको भरमा, खुच्चिङ लगाएको भरमा, कसैले जिब्रो पड्काएको भरमा, आँखा झिम्काएको भरमा के हुन्छ ? यो सामान्य कुरा जस्तै भएको छ तर हामीलाई अपाच्य छ, यो हिंसा नै हो ।
यस्तै एक कम्पनीमा काम गर्ने श्रमिकले नाम उल्लेख नगर्ने शर्तमा हिंसाबारे भनिन्, “छोरी मान्छेले जन्मबाटै हिंसा भोग्ने गरी कर्म लिएर आएको जस्तो लाग्छ । किनभने, हामी आज अगुवा भएर पनि भोगिरहेका छौं ।”
यी सवालहरु उठिसकेपछि यो पंक्तिकारसँग अन्टुफ उपाध्यक्ष उषा देवकोटाले कार्यस्थलमा हुने महिला हिंसालाई रोक्न विद्यमान ऐन, कानुनहरुको पूर्ण पालना हुनुपर्नेमा जोड दिइन् ।
उपाध्यक्ष देवकोटाले भनिन्, “औपचारिक वा अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरुमाथि हुने हिंसा र दुर्व्यवहारलाई रोक्न विद्यमान ऐन, कानुनको पूर्ण कार्यान्वयन हुनुपर्दछ ।”
उनले जोड दिएर भनिन्, “लैंगिक भिन्नताका आधारमा गरिने अस्विकार्य व्यवहार र अभ्यास चाहे त्यो शारीरिक, मनोवैज्ञानिक, यौनिक वा आर्थिक पक्ष होस् त्यो हिंसा नै हो त्यसैले पीडकलाई दण्डीत गरिनु पर्दछ । सरकार, रोजगारदाता र श्रमिक युनियनको भूमिका थप सशक्त हुनु जरुरी छ । हिंसा र दुर्व्यवहार हुन नदिन अनुगमन, न्याय निरुपणको व्यवस्था गरिनु पर्दछ । मुलुकी फौजदारी संहिता, मुलुकी देवानी संहिता, स्थानीय सरकार सञ्चालन ऐन, छाउपडी प्रथा उन्मुलन निर्देशिका, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१, घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ (संशोधन २०७५), वोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ साथै फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७७ मा रहेका हिंसासम्बन्धी प्रावधानको कार्यान्वयनमा लचिलो बन्नु हुँदैन ।
यसैगरी संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का अध्यक्ष जगत सिम्खडाले सबै प्रकारका हिंसा र दुर्व्यवहारलाई रोक्न अहिलेको कानुनलाई अधिकतम प्रयोग गर्दै आइएलओ महासन्धि १९० अनुमोदन गर्न सरकारलाई दबाब सृजना गर्नुपर्ने बताए ।
“जबसम्म जनजनको मनमा हिंसा हुनुहुँदैन भन्ने हुँदैन तबसम्म समाजमा हिंसा भइरहने हुँदा कार्यस्थलमा हुने हिंसा रोक्न मर्यादित कामका लागि जुनजुन प्रतिष्ठानमा कार्यरत छौैं त्यहाँबाट उठ्नु जरुरी छ,” अन्टुफ अध्यक्ष समेत रहेका जेटीयुसीसी अध्यक्ष सिम्खडाले भने, “हिंसा र दुर्व्यवहार रोक्नका लागि सी–१९० अनुमोदनका लागि सरकारलाई ध्यानाकर्षण गराइसकेको छौं । अब हाम्रो संगठनले केन्द्र, प्रदेश र स्थानीय तहसम्म नै अभियान चलाउँदैछ ।”
सरकारले भएका ऐन र कानूनहरुको पूर्ण कार्यान्वयन गर्ने साथै प्रहरी वा राष्ट्रिय महिला आयोग वा राष्ट्रिय मानव अधिकार आयोगले अपराधजन्य घटनामा मेलमिलाप नगराएर पीडकलाई दण्डीत गर्ने हो भने ‘लैंगिक हिंसा’ अन्त्य टाढाको विषय हुने देखिँदैन् ।