१ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आइतबार खुल्लामञ्चमा महाधिवेशनको उदघाटन गरेको छ ।
सो पार्टीले बन्द-सत्र सोमबारदेखि रोल्पाको थबाङमा गर्ने बताएको छ । उदघाटन कार्यक्रममा काठमाडौंमा भेला भएका नेता कार्यकर्ताहरु आइतबार साँझै थबाङतिर लागेका छन् ।
महाधिवशेनको उदघाटनपूर्व राजधानीमा रातो झण्डासहित विप्लव माओवादीका कार्यकर्ताले जुलुस लगाएका थिए ।
महाधिवेशन उदघाटन सभालाई सम्बोधन गर्दै माओवादी नेता विप्लवले आफूलाई कसैले सिके राउतलाई जस्तै जेल हाल्न चाहेको भन्ने सुनेको बताउँदै चेतावनीको भाषामा भने, ‘हामी काठमाडौंमै छौं, सक्छौ भने जेल हाले हुन्छ, तर देश बेच्नेहरु जेल जानुपर्ने हो कि देशको रक्षा गर्नेहरु जेल जानुपर्ने ? यसको हिसाब-किताव इतिहासले गर्छ ।’
माओवादी नेता विप्लवले प्रचण्ड र केपी ओलीको प्रसङ्ग झिकेर प्रचण्डले दिनभरि गरेको भाषण ओलीले एउटै टुक्का भनेर सिध्याइदिने र ओलीले भनेको टुक्कालाई प्रचण्डको एउटै ढाँटले सिध्याइदिने गरेको भन्दै ओली-प्रचण्ड दुबै चटके नेता भएको उनले आरोप लगाए ।