एउटा क्षेत्रको लोकप्रियतालाई अर्को क्षेत्रको भावनामा प्रयोग गर्ने कुरा इमोसनल ब्ल्याकमेलिङ – शंकर पोखरेल

२३ असार ०८०, काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा सेलिब्रेटी जम्मा गरेर राजनीतिक दल नबन्ने बताएका छन् ।

पार्टीको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता पोेखरेलले रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै कुनै एक क्षेत्रमा लोकप्रिय हुँदैमा राजनीतिमा पनि त्यस्तै नहुने बताएका हुन् ।

‘सोसल मिडियामा छाएका सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन सक्दैन,’ उनले भने, ‘सोसल मिडियामा लोकप्रियता हासिल गर्नेवित्तिकै समाजको नेतृत्वको रुपमा हामी योग्य छौं भन्ने मान्यता टिकाउ मान्यता होइन ।’

महासचिव पोखरेलले कुनै समय भारतीय अभिनेता अमिताभ बच्चन पनि राजनीतिमा आएको र प्रतिष्ठित राजनीतिज्ञ कमलापति त्रिपाठीलाई हराएको भन्दै एक कार्यकालमै बच्चनले यथार्थ बुझेर राजनीति छाडेको टिप्पणी गरे ।

महासचिव पोखरेलले एउटा क्षेत्रको लोकप्रियतालाई अर्को क्षेत्रको प्रयोग गर्ने कुरा इमोसनल ब्ल्याकमेलिङ भएको बताउँदै भने, ‘एउटा क्षेत्रको लोकप्रियतालाई अर्को क्षेत्रको भावनामा प्रयोग गर्ने कुरा जनताको भावनामाथि इमोसनल ब्ल्याकमेलिङ हो भन्ने कुरा बुझ्न जरुरी छ ।’