३२ साउन ०७४, काठमाडौं । नेपालले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजनामा सघाउन चीन समक्ष प्रस्ताव गरेको छ ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँग बुधबार कीर्तिपुरस्थित तालिम केन्द्रको अवलोकन गर्ने क्रममा केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजना रहेको भन्दै सहयोगको प्रस्ताव अघिसारेका हुन् ।
स्वास्थ्यमन्त्री पोखरेलले आफ्नो प्रस्तावमा उपप्रधानमन्त्री वाङ सकारात्मक रहेको भन्दै परराष्ट्रमन्त्री कृष्णबहादुर महाराको चीन भ्रमणमा थप कुराकानी हुने बताए ।
मन्त्री पोखरेलले आफू अघिल्लो पटक स्वास्थ्यमन्त्री हुँदा जिल्ला अस्पताल निर्माणमा सहयोग गर्न चिनियाँ समकक्षीसमक्ष ७ अर्बको योजना प्रस्ताव गरिएको पनि उपप्रधानमन्त्री वाङलाई स्मरण गराएका छन् ।
उनलाई त्यसबेला चिनियाँ समकक्षीले प्रक्रिया अनुसार प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।