अमेरिकाले चीनविरुद्ध तथ्यहीन अफवाह फैलाइरहेको चिनियाँ विदेशमन्त्रीको भनाई

११ जेठ ०७७, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनविरुद्ध अमेरिकाले तथ्यहीन अफवाह फैलाइरहेको बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को उत्पत्तिको विषयमा जाँच हुनुपर्ने माग भइरहेका बेला आइतबार एक पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री यीले यस्तो बताएका हुन् ।

अमेरिका चीनको छबि बिगार्ने पक्षमा रहेको बताउँदै उनले नयाँ कोरोना भाइरसबाहेक अमेरिकामा एक राजनीतिक भाइरस पनि फैलिरहेको र त्यो चीनलाई बदनाम गर्न लागिरहेको बताए ।

विदेशमन्त्री यीले कोभिड–१९ को स्रोत पत्ता लगाउन, अन्तर्राष्ट्रिय सहकार्य गर्न चीन खुला रहेको बताएका छन् ।

केही अमेरिकी राजनीतिज्ञहरूले आधारभूत तथ्यलाई बेवास्ता गर्दै धेरै झूटा कुराहरु बनाएको र षडयन्त्र रचेको पनि यीले बताए ।